काठमाडौं ।
विदेशी मुद्राको सञ्चिति घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तमा १४ खर्ब एक अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति दुई दशमलव छ प्रतिशतले कमी आई २०७८ जेठ मसान्तमा १३ खर्ब ६५ अर्ब ६५ करोड कायम भएको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७८ जेठ मसान्तमा शून्य दशमलव छ प्रतिशतले वृद्धि भई ११ अर्ब ७१ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७८ जेठ मसान्तमा दुई दशमलव तीन प्रतिशतले कमी आई ११ खर्ब ९७ अर्ब ६५ करोड कायम भएको छ ।
बैंक तथा वित्तीय संस्था अर्थात् नेपाल राष्ट्र बैंकबाहेकसँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा एक खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा २०७८ जेठ मसान्तमा चार दशमलव चार प्रतिशतले कमी आई एक खर्ब ६८ अर्ब कायम भएको छ । २०७८ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलव छ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७÷०७८ को ११ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११ महिना एक दिनको वस्तु आयात र १० महिना एक दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०७८ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३२ प्रतिशत, ७६ दशमलव छ प्रतिशत र २७ दशमलव आठ प्रतिशत रहेका छन् । २०७७ असार मसान्तमा यी अनुपातहरू क्रमशः ३५ दशमलव आठ प्रतिशत, एक सय पाँच दशमलव सात प्रतिशत र ३३ दशमलव एक प्रतिशत रहेका थिए ।
राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय बजारमा २०७७ जेठ मसान्तमा प्रतिब्यारेल अमेरिकी डलर ३८.५४ रहेको कच्चा पेट्रोलियमको मूल्य २०७८ जेठ मसान्तमा ८७ दशमलव पाँच प्रतिशतले वृद्धि भई अमेरिकी डलर ७२.२७ पुगेको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७७ जेठ मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १७३३.५० रहेकोमा २०७८ जेठ मसान्तमा सात दशमलव छ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १८६५.६० पुगेको छ ।
राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तको तुलनामा २०७८ जेठ मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ तीन दशमलव दुई प्रतिशतले अधिमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ नौ दशमलव सात प्रतिशतले अवमूल्यन भएको थियो । २०७८ जेठ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर एक सय १६ रुपैयाँ ६२ पैसा कायम भएको छ । २०७७ असार मसान्तमा उक्त विनिमय दर एक सय २० रुपैयाँ ३७ पैसा कायम रहेको थियो ।