काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले प्रदेश नं २ को बरहथवान गरपालिका वडा नं ६ मा शाखा कार्यालय विस्तार गरी कारोबार सुरुवात गरेको छ । कुल ८० करोड एक लाख चुक्ता पुँजी रहेको वित्तीय संस्थाको शाखा कार्यालय थप भएपछि ११ वटा शाखा तथा चारवटा एक्सटेन्सन कार्यालयहरूमार्फत वित्तीय सेवा तथा सुविधाहरू प्रवाह हुनेछ । फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरू उक्त नयाँ शाखाहरूबाट समेत प्रवाह गरिनेछ ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाइँले कोभिड १९को महामारीका बीच स्थापना गरिएको नयाँ शाखाले बरहथवा नगरक्षेत्रसहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरूमा बसोबास गर्ने स्थानीय जनताको घरदैलोमा नै पुग्ने गरी उच्चतम प्रविधिको उपयोगद्वारा वित्तीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
एटीएम, मोबाइल बैंकिङ, इ–बैंकिङ, आईपीएस, कनेक्ट आईपीएस, सी–आस्वालगायत प्रविधिमा आधारित आधुनिक डिजिटल बैंकिङ तथा रेमिट्यान्स सेवाहरूको उपलब्धता रहेको प्रोग्रेसिभ फाइनान्सले छिटै शाखारहित बैंकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ । फाइनान्सले केही दिनभित्र नै देशका प्रमुख सहर तथा सहरोन्मुख क्षेत्रहरूमा थप पाँचवटा शाखा तथा दुईवटा विस्तारित काउन्टर स्थापना गरी कारोबार सञ्चालन गर्ने तयारी समेत गरिसकेको छ ।