काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले एक हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र यही असार ३१ गते बिहीबारदेखि जारी गरेको छ । वार्षिक आठ दशमलव ५० प्रतिशतको आकर्षक ब्याजदरसहित बैंकले तीन अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गरेको हो ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धक रहेको माछापुच्छ्रे ऋणपत्र २०८७ को कुल निष्काशित ३० लाख एकाइमध्ये १२ लाख कित्ता अर्थात् कुल एक अर्ब २० करोड ऋण पुँजी रकम (पाँच प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको) सर्वसाधारणको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिनेछ भने बाँकी १८ लाख कित्ता अर्थात् कुल एक अर्ब ८० करोड ऋणपुँजी रकम विभिन्न व्यक्ति तथा संघसंस्थाहरूलाई व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।
इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता आवेदन गर्न सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन छिटोमा साउन ४ गते निष्काशन बन्द हुनेछ भने ढिलोमा साउन १७ गतेसम्म बन्द हुनेछ । बैंकको ऋणपत्रमा धितोपत्र बोर्डबाट आस्वा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाको अलावा मेरो सेयर सफ्टवेयरबाट समेत आवेदन गर्न सकिन्छ ।
बैंकले हाल पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना एक सय ६१ वटा शाखाहरू र एक सय ६५ शाखारहित बैंकिङ सेवा, पाँचवटा एक्सटेन्सन काउन्टर समेत गरी जम्मा तीन सय ३१ स्थानबाट नौ लाखभन्दा बढी ग्राहकहरूमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर दुई सय दुई वटा एटीएमहरू सञ्चालनमा रहेको छन् ।