नयाँ दिल्ली । मास्टरकार्डलाई डेटा भण्डारणसम्बन्धी कानुन उल्लंघन गरेको आरोपमा भारतले प्रतिबन्ध लगाएपछि त्यसको असर भारतीय बैंकिङ क्षेत्रमा समेत परेको छ । रोयटर्सका अनुसार बैंकहरुको कार्ड जारी गर्न र राजस्व, भुक्तानीलगायतमा यसले अवरोह ल्याउने देखिएको बैंकिङ क्षेत्रका कार्यकारी अधिकारीहरुले जनाएका छन् ।
गत बुधबार भारतको केन्द्रीय बैंक आरबीआईले मास्टरकार्डमाथि प्रतिबन्धको निर्देशन दिएको थियो । गत अप्रिलमा अमेरिकन एक्सप्रेसमाथि पनि केन्द्रीय बैंकले यस्तै प्रतिबन्ध लगाएको थियो । भारतीय बजारमा मास्टर कार्ड ठूलो खेलाडी हो । यसको नेटवर्कबाट धेरै लेन्डरहरुले कार्ड जारी गर्ने गरेका छन् । केन्द्रीय बैंकले मास्टरकार्डलाई नयाँ कार्ड जारी गर्न रोक लगाइएको बताएको थियो । जुलाई २२ देखि मास्टरकार्डले नयाँ कार्ड जारी गर्न पाउनेछैन । तर अस्तित्वमा रहेका कम्पनीका कार्ड प्रयोगकर्ता ग्राहकलाई नयाँ नियमले केही फरक नपार्ने बताइएको छ ।