काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले निर्माण व्यवसायीमा काम लिने तर काम नगर्ने परिपाटी देखिएको बताएका छन् । केही निर्माण व्यवसायीहरूमा काम लिन मरिहत्ते गर्ने तर जिम्मा लिएको काम समयमै नगर्ने परिपाटी मौलाउँदै गएको भन्दै उनले जिम्मा लिएको काम समयमै सक्न आग्रह गरे । साथै उनले काम एउटा व्यवसायीले लिने र कार्यक्षेत्रमा अर्कालाई खटाउनु पनि ठीक नभएको बताए ।
नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डललाई विहिवार भेट्दै अर्थमन्त्री शर्माले मुख्य व्यवसायीले नै सम्बन्धित काम गर्नुपर्ने बताए । यस्तै बजारमा रहेको बाँकी रकम समयमै भुक्तान गर्नुपर्ने उनको भनाइ थियो । काम गर्ने वातावरणअनुकूल हुने गरी महासंघले ल्याउने प्रस्तावमा छलफल गर्न आफू सधैँ तयार रहेको उनले बताए ।
निर्माण व्यवसायीविना विकासका काम सम्भव नभएकाले व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयार रहेको उनको भनाइ थियो । यस्तै अर्थमन्त्री शर्माले स्वच्छ प्रतिस्पर्धासहित व्यावसायिक क्षमता मूल्याङ्कन गरी व्यवसाय गर्न र क्राइटेरियाको लागि एसबीडी (स्ट्यान्डर्ड बिडिङ डकुमेन्ट) मा गर्नुपर्ने संशोधनको सुझाव दिन सल्लाह दिए । नवनियुक्त अर्थमन्त्री शर्मालाई बधाई दिँदै महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले बजेटसँग सम्बन्धित म्याद थप, धरौटी रकम फिर्तालगायतका विषयमा लिखित सुझाव पेस गर्दै कार्यान्वयनका लागि आग्रह गरेको थियो ।
प्रतिनिधिमण्डलले निर्माण आयोजनाहरूको एक वर्ष म्याद थपको नीतिगत निर्णय गर्न, सार्वजनिक खरिद नियमावली, २०६४ मा भएको छैटौँ संशोधनमा गरिएको म्याद थपसम्बन्धी व्यवस्था खारेज गर्न, शतप्रतिशत धरौटी रकम फिर्ता गर्न, व्यवसायीहरूको ठूलो भुक्तानी रोकिएकाले तत्काल भुक्तान गर्न अर्थमन्त्रीसँग आग्रह गरेको छ । यसबाहेक महासंघ प्रतिनिधिमण्डलले शुल्क जरिवाना तथा दस्तुर मिनाहा, पुनर्कर्जा, निःशुल्क बैंक ग्यारेन्टी नवीकरणलगायतका विषयमा पनि लिखित सुझाव अर्थमन्त्री शर्मा समक्ष पेस गरेको छ ।
त्यस्तै महासंघले निर्माण व्यवसायीहरूसहित तीनका कामदार तथा श्रमिकहरूलाई कोभिड—१९ विरुद्धको खोपको व्यवस्था मिलाउनुपर्ने माग गरेको छ । यस्तै बोलपत्रका क्राइटएरिया, बैंक क्रेडिट लाइनको खारेजी, निःशुल्क बीमाको नवीकरणलगायतका विषयमा पनि महासंघले लिखित सुझाव दिएको छ । भेटमा महासंघका उपाध्यक्ष आङ दोर्जी लामा, महासचिव रोशन दाहाल, कोषाध्यक्ष हिरणकुमार श्रेष्ठ, महासंघका कार्यालय प्रमुख प्रेमसिंह ऐर, उपनिर्देशक आशित अधिकारी, प्रशासन सहायक इमेश गौतमलगायतको सहभागिता रहेको थियो ।