काठमाडौँ । जिल्ला अदालत म्याग्दीबाट बैंकिङ कसुर मुद्दामा कैद तथा जरिवाना ठहर भई फरार रहेका तीन जना फरार प्रतिवादीलाई म्याग्दी बेनीबजारका विभिन्न स्थानबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बेनी नगरपालिका–२ बस्ने ५५ वर्षीया सुनिता नेपाली, सोही नगरपालिका–४ बस्ने ३३ वर्षीया जगदेवी थापा मगर र सोही ठाउँ बस्ने ३५ वर्षीया निर कुमारी खत्री रहेका छन् ।
बैंकिङ कसुर मुद्दामा सुनितालाई छ महिना कैद तथा नौ लाख ७८ हजार दुुई सय २५ रुपैयाँ जरिवाना, जगदेवीलाई छ महिना कैद तथा नौ लाख ७९ हजार छ सय ४९ रुपैयाँ जरिवाना र निर कुमारीलाई छ महिना कैद र नौ लाख ७० हजार तीन सय ५६ रुपैयाँ जरिवाना ठहर भई फरार भएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत म्याग्दीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद तथा जरिवाना भुक्तानका लागि कारागार कार्यालय म्याग्दी पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।