काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरूलाई कोरिया जाने वातावरण बनाइदिन आग्रह गरेका छन् । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकीले अर्थमन्त्री शर्मासँग बुधबार गरेको भेटमा शर्माले कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट हुनुपर्ने काम गरिने प्रतिबद्धता जनाउँदै कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिन आग्रह गरे ।
‘ईपीएसअन्तर्गत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका हजारौँ युवाहरू बेरोजगार बसेका छन् । यो समस्या चाँडै समाधान गरिनेछ भन्ने विश्वास लिएको छु’, मन्त्री शर्माले भने । जवाफमा राजदूत पार्कले रोकिएको ईपीएसको काम अघि बढाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाएका थिए । नेपालीहरूको मिहिनेती र इमान्दारिताबाट कोरियाली रोजगारदाताहरू खुशी रहेको प्रसङ्ग उल्लेख गर्दै उनले भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकहरूलाई काममा पठाउने प्रक्रिया अघि बढाइने जानकारी दिए ।
यस्तै भेटमा अर्थमन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसको लागि कोरियाली जनताको तर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे । उनले नेपालको स्वास्थ्य, शिक्षा र प्रविधिको क्षेत्रमा कोरियाले गरिरहेको सहयोगप्रति आभार प्रकट गरे । कोरियाले नेपालमा स्वास्थ्य, शिक्षा, जलविद्युतलगायतका क्षेत्रमा लगानी समेत गर्दै आइरहेको छ । कोरियाको लगानीमा भक्तपुरको ठिमी, नुवाकोट, धनगढी र मुगुमा सुविधासम्पन्न अस्पताल निर्माण गरेको छ भने महोत्तरीको बर्दिवासमा मोडेल पोलिकेक्निक कलेजको स्थापना गर्दै छ । उक्त कलेजले निर्माण क्षेत्रको दक्ष जनशक्ति उत्पादन गर्नेछ ।
मन्त्री शर्माले कोरियासँग नेपालको ४८ वर्षदेखि सुमधुर सम्बन्ध कायम रहिआएको र यसलाई अझै प्रगाढ बनाउन कोसिस गरिने बताए । यस्तै राजदूत पार्कले कोरियाली लगानी रहेको माथिल्लो त्रिसुली–१ जलविद्युत् आयोजनाको काममा भइरहेको ढिलाइबारे चासो राखेका थिए । आयोजनामा ढिलाइ हुँदा लागत बढ्न जानेतर्फ चिन्ता रहेको उनले बताए । यस विषयमा मन्त्री शर्माले उक्त आयोजना सरकारको पनि प्राथमिकताको क्षेत्र भएकोले काममा गति दिनेतर्फ पहल गर्ने जानकारी दिएका थिएका थिए ।