काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा चिनियाँ लगानीमा सञ्चालन भएका परियोजना निर्माणसम्पन्न गर्न सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले अर्थमन्त्री शर्मासँग शुक्रबार गरेको शिष्टाचार भेटमा शर्माले उक्त विभिन्न आयोजनाहरूको कार्यान्वयनमा अनुगमन गरी देखिएका समस्या समाधान गर्न र कार्यसम्पन्न गर्न सरकारको तर्फबाट तदारुकता रहने प्रतिबद्धता जनाए ।
उनले चिनियाँ लगानीमा अघि बढिरहेका सडक, जलविद्युत्, विमानस्थललगायतका निर्माणाधीन परियोजनाहरू सम्पन्न गर्नको लागि नेपाल सरकारले गर्नुपर्ने कामहरूको सम्बन्धमा गम्भीरतापूर्वक ध्यान दिने बताए । भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पछिको पुनर्निर्माणमा प्राप्त भएको चिनियाँ सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चिनियाँ सहयोग र सद्भाव निरन्तर रहने विश्वास व्यक्त गरे । कोभिडविरुद्ध जनतालाई खोप लगाउनु सरकारको प्राथमिकताको काम भएको भन्दै उनले चीनले १८ लाख डोज खोप अनुदानमा दिएकोमा आभार प्रकट गरे । साथै उनले चीनबाट थप खोप खरिदको लागि प्रक्रिया अघि बढाएकोले त्यस कार्यमा राजदूतबाट सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरे ।
भेटको क्रममा चिनियाँ राजदूत होउले नवनियुक्त अर्थमन्त्री शर्मालाई बधाई दिँदै जुनसुकै सरकार आए पनि नेपाललाई हेर्ने चिनियाँ नीति र दृष्टिकोणमा परिवर्तन नआउने बताइन् । चिनियाँ जनता र त्यहाँको कम्युनिष्ट पार्टीसँग नेपाली जनता र यहाँका राजनीतिक दलहरूको राम्रो सम्बन्ध रहेको चर्चा गर्दै राजदूत होउले कोभिड महामारीविरुद्धको लडाइँमा आफूहरू नेपालको साथमा रहँदै आएको बताइन् ।
चीनले यसअघि नै नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको र थप १६ लाख डोज अनुदानको खोप पनि चाँडै प्राप्त गर्ने जानकारी दिइन् । यस्तै भूकम्पपछिको पुनर्निर्माणमा पनि चीनले नेपालमा विभिन्न २५ वटा परियोजनाहरूको पुनर्निर्माणमा सहयोग गरेको र आधाजसो काम सकिएको उल्लेख गर्दै उनले दरबार हाइस्कुलको पुनर्निर्माण सकिएको, वसन्तपुरको नौतले दरबारको काम सकिनलागेको र बाँकी रहेका अन्य परियोजनाहरूको काम पनि चाँडै सम्पन्न गरिने बताइन् ।