लन्डन । बेलायतको चर्चित बैंक एचएसबीसीको यो वर्षको छ महिनाको मुनाफा झण्डै दुई गुणा वृद्धि भएको छ । बेलायत र हङकङको अर्थतन्त्र पुनरुत्थानसँगै बैंकको मुनाफा पनि दोब्बरले बढेको बीबीसीले जनाएको छ ।
एचएसबीसी पुँजीका हिसाबले युरोपकै ठूलो बैंक हो । उक्त अवधिमा बैंकको करअघिको मुनाफा बढेर १० अर्ब ८० करोड अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले चार अर्ब ३० करोड डलरमात्रै मुनाफा गरेको थियो । उक्त अवधिमा बैंकले सेवा दिने सबै क्षेत्रमा मुनाफा हासिल गरेको छ । विश्व अर्थतन्त्र कोरोना भाइरस महामारीबाट तंग्रिँदै गर्दा बैंकले वित्तीय विवरण सार्वजनिक गरेको हो ।
एचएसबीसीले बेलायतमा मात्रै करअघिको मुनाफा दुई अर्ब १० करोड डलर रहेको जनाएको छ । नाफासँगै बैंकले सेयरसदस्यलाई बोनस समेत दिने भएको छ । बैंकले प्रतिसेयर सात सेन्ट अन्तरिम बोनस दिने भएको हो । यसअघि भने उक्त बोनस वितरण रद्द गरेको थियो । नाफाका बाबजुद बैंकले पुनर्संरचना योजना अघि बढाउने भएको छ । गत वर्ष फेब्रुअरीमा बैंकले यस्तो योजना अघि सारेको थियो ।