काठमाडौं । नेपाल धितोपत्र बोेर्डले एक अर्ब ५७ करोड ५० लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्नको लागि अनुमति दिएको छ । बोर्डका अनुसार चालू आर्थिक वर्ष सुरु भएयता तीनवटा जलविद्युत् कम्पनीहरुलाई आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र सर्वसाधारणको लागि समेत गरी उक्त अनुपातमा साधारण सेयर जारी गर्नको लागि अनुमतिको दिइएको हो ।
सोअनुरुप तीनवटा जलविद्युत् कम्पनीहरुले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक करोड ५७ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्नेछन् । बोर्डका अनुसार सोमध्ये ङादी हाइड्रोपावर लिमिटेडले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ४० करोड ५० लाख रुपैयाँबराबरको ४० लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति पाएको छ ।
उक्त कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा भने ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । यसैगरी साहस ऊर्जा लिमिटेडले पनि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र सर्वसाधारणको लागि समेत गरी एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक अर्ब पाँच करोड रुपैयाँबराबरको एक करोड पाँच लाख कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति पाएको छ । उक्त कम्पनीको सेयर निष्काशन एवं बिक्री प्रबन्धकको रुपमा भने एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।
बोर्डका अनुसार बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडले पनि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १२ करोड रुपैयाँबराबरको १२ लाख कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति पाएको छ । उक्त कम्पनीको सेयर निष्काशन एवं बिक्री प्रबन्धकको रुपमा भने सिभिल क्यापिटल लिमिटेड रहेको छ । बोर्डका अनुसार मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको भने ३५ करोड ३१ लाख रुपैयाँबराबरको साधारण सेयर स्वीकृतिकै चरणमा रहेको छ । कम्पनीले धितोपत्र बोर्डसमक्ष एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ३५ लाख ३१ हजार कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति माग गर्दै आवेदन दिएको छ ।
पुँजी बजारलाई प्रभाव पार्ने भ्रामक समाचार प्रचारप्रसार नगर्न स्वतन्त्र कर्मचारी संगठनको आग्रह : पुँजी बजारलाई प्रभाव पार्ने भ्रामक तथा तथ्यहीन विषयबारे प्रचारप्रसार नगर्न नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले अनुरोध गरेको छ । पछिल्लो समय धितोपत्र बोर्ड, बोर्डका पदाधिकारी तथा धितोपत्र बजारबारे पुष्टि नभएका समाचार आएको भन्दै संगठनले प्रेस विज्ञप्तिमार्फत अनुरोध गरेको हो ।
बोर्डबाट बजार सुधार गर्ने क्रममा धितोपत्र बजारमा भएका कमी कमजोरीलाई सुधार गर्न थालेकोमा सञ्चारमाध्यमबाट यसलाई बाधा पुग्ने खालका सामग्रीप्रति कर्मचारी संगठनले ध्यानाकर्षण गराएको छ । यस्तो गतिविधिले पुँजीबजार विकासमा अवरोध आउने भएकाले यसतर्फ संयमित हुन समेत कर्मचारी संगठनले अनुरोध गरेको हो ।
पछिल्लो समय धितोपत्र बोर्ड, बोर्डका पदाधिकारी तथा धितोेपत्र बजारका सम्बन्धमा सञ्चारमाध्यमहरुमा आएका सामग्री सम्बन्धित निकायबाट विना पूर्वाग्रह सत्य तथ्यमा आधारित भई बाहिर ल्याउन र बोर्डको वातावरणलाई प्रभावित नपार्न संगठनले व्यवस्थापनको समेत ध्यानाकर्षण गरेको छ । बोर्डको कर्मचारी युनियनले यसबारे ध्यानाकर्षण गर्दै प्रेस विज्ञप्ति जारी गरेको थियो ।