काठमाडौं । जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब तीन लाख खोप काठमाडौं आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको तीन लाख मात्रा खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए ।
जापानले नेपाललाई १६ लाख मात्रा एस्ट्राजेनेकाको खोप दिने बताएको थियो । जापानबाटै शनिबार पाँच लाख मात्रा खोप काठमाडौँ आएको थियो । बाँकी खोप एक सातापछि आउने मन्त्रालयले जनाएको छ । यसअघि शुक्रबार भुटानबाट दुई लाख ३० हजार मात्रा कोभिसिल्ड खोप प्राप्त भएको थियो । जापानबाट प्राप्त खोप पहिलो मात्रा कोभिडसिल्ड लगाएका नागरिकलाई लगाइनेछ ।
हालसम्म खरिद र अनुदान गरेर करिब एक करोड मात्रा खोप स्वदेश आइपुगेको छ । नेपालले ६० लाख मात्रा खोप खरिद गरेको छ । चीनबाट ४० लाख भेरोसेल र भारतबाट २० लाख कोभिसिल्ड खोप खरिद गरिएको हो । भारतबाट खरिद गरिएका मध्ये १० लाख मात्रा खोप अझैसम्म आपूर्ति भएको छैन । यसैगरी भारतबाट अनुदानमा ११ लाख कोभिसिल्ड (नेपाली सेनासहित) प्राप्त भएको छ । चीनबाट १८ लाख मात्रा भेरोसेल खोप अनुदानमा प्राप्त भएको छ । यस्तै गाभीबाट तीन लाख ४८ हजार कोभिसिल्ड र अमेरिकाबाट १५ लाख ३४ हजार जे एण्ड जे खोप अनुदानमा प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
खोपको नियमित आपूर्ति हुन थालेपछि सरकारले खोप केन्द्र पनि थप गरिएको छ । खोप केन्द्रमा भीडभाड देखिएको र खोप लगाउनेबाटै संक्रमण फैलनसक्ने देखिएपछि सरकारले एक हजार चार सय ३३ खोप केन्द्र थप गरेको हो । पहिले दुई हजार नौ सय ८९ खोप केन्द्र भएकामा अहिले त्यो संख्या चार हजार चार सय २२ पु-याइएको छ । काठमाडौँ उपत्यकामा ८३ खोप केन्द्र थप गरी एक सय ४९ पु-याइएको छ ।