दुबई । साउदी अरेबियाको सरकारी स्वामित्वको तेल उत्पादक कम्पनी साउदी अराम्कोको मुनाफा दोस्रो त्रैमासिकमा झण्डै चार गुणाले बढेको छ । कम्पनीले आइतबार यसबारे जानकारी दिएको हो ।
तेलको मूल्य बढेको र उक्त मुनाफाले सबै अनुमानलाई पछि पारेको रोयटर्सले कम्पनीलाई उद्धृत गर्दै जनाएको छ । कम्पनीले यो नतिजा विश्वव्यापी रुपमा कोरोना रोकथामका लागि गरिएका प्रतिबन्ध हटाइनु, खोप कार्यक्रम बढ्नु, राहत प्याकेज ल्याइनु र मुख्य बजारमा आर्थिक क्रियाकलाप लयमा फर्किएका कारण आएको उल्लेख गरेको छ । योसँगै बितेका हप्तामा धेरै मुनाफा आर्जन गर्ने कम्पनीहरुमध्ये अराम्को पनि परेको छ ।
अराम्कोबाहेक एक्सन मोबिलले प िनगत महिना कुल आय दोस्रो त्रैमासिकमा चार अर्ब ६९ करोड डलर वा प्रतिसेयर एक दशमलव १० डलर भएको जनाएको थियो । एक वर्षअघि कम्पनी एक अर्ब आठ करोड अमेरिकी डलर वा प्रतिसेयर २६ सेन्ट घाटामा थियो ।
त्यस्तै रोयल डचले पनि दुई वर्षअघिको तुलनामा उच्च त्रैमासिक मुनाफा आर्जन भएको जनाएको छ । कम्पनीको आम्दानी पाँँच अर्ब ५३ करोड डलर रहेको छ । एक वर्षअघिको यस्तो आम्दानी ६३ करोड ८० लाख अमेरिकी डलर थियो ।
पेट्रोलियम निर्यातक देशहरुको संगठनले उत्पादन कटौतीको निर्णय गरेपछि मूल्य बढ्दा कम्पनीहरुलाई फाइदा भएको छ । शुक्रबार कच्चा तेलको मूल्य ७०.७० प्रतिब्यारेल अमेरिकी डलर मूल्य थियो ।
यो वर्षको सुरु भएयता कच्चा तेलको मूल्य ३५ प्रतिशतले बढेको छ । मुनाफाको यो नतिजाले विश्वमा ऊर्जाको माग बढेको रुपमा हेरिएको छ । यो वर्षको दोस्रो छ महिनामा अझै माग बढ्ने अपेक्षा गरिएको छ ।