काठमाडौं । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट २५ जना छानिएका छन् । ‘ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ दोस्रो जेनेरेसन’को भर्चुअलमार्फत भएको ‘गाला राउन्ड’बाट २५ जना प्रतिस्पर्धी छनौट भएका हुन् ।
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा समितिले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलमा डिजिटल अडिसन ओपनिङ राउन्डको अन्तरा, सारेगम र पियानो राउन्ड पार गर्दै छनोट भएका ३० जनामध्ये ‘गाला राउन्ड’मा २५ जना पुगेका हुन् । ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायकहरू गायक उदय सोताङ र विजय लामा तथा गायिका प्राश्ना शाक्य र सुनिता दुलाल रहेका छन् । पाँच जना महिला र २० जना पुरुष उत्कृष्ट २५ मा पुगेका हुन् ।
ग्लोबल एनआरए सिंगिङ आइडल सेकेन्ड जेनेरेसन–२०२१ को डिजिटल अडिसनबाट ६० जना प्रतिस्पर्धी छनौट भएका थिए । एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीले निर्णायकको मत र भोटिङमार्फत प्रतिस्पर्धीहरूलाई अघिल्लो चरणका लागि अघि बढाइएको बताए । डिजिटल अडिसनमा छवटा महादेशस्थित गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषदहरूमार्फत आफूले गाएको गीतको भिडिओ आयोजकलाई पठाउनुपर्ने व्यवस्था गरिएको थियो ।
संघको काठमाडौंस्थित मुख्यालयमा औपचारिक कार्यक्रम गरेरै डिजिटल अडिसनका लागि छानिएका प्रतिस्पर्धीको घोषणा गर्ने तय भए पनि कोरोना प्रकोपलाई दृष्टिगत गरी भर्चुअलमार्फत गरिएको रेग्मीले बताए । ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने पाँच जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिनेछ ।