काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । बैंकले ग्राहकवर्गको बदलिँदो चाहनालाई सम्बोधन गर्न एवं नगद कारोबारमा रहेको जोखिमलाई न्यूनीकरण गर्न मंगलबार क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको हो । बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एसियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरेका हुन् ।
समारोहमा बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले ग्राहकको चाहनाअनुसार नयाँ–नयाँ बैंकिङ प्रोडक्टको अनुसन्धान गर्नुपर्ने बताउँदै यस्तो सेवाले ग्राहकवर्गको आर्थिक कारोबारमा सहजता हुने बैंकले विश्वास लिएको बताए । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले क्रेडिट कार्डको शुभारम्भ पछि पूर्ण डिजिटल बैंकिङतर्फ बैंक अगाडि बढिरहेकोे बताउँदै नेपाल, भारत र भुटानमा चल्ने यो सेवा बैंकका सबै शाखा कार्यालयबाट माग गर्न सकिने बताए । एसियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठले रावा बैंकको पहिलो क्रेडिट कार्ड ग्राहक हुनपाउँदा खुसी लागेको बताउँदै बैंकको व्यवसाय विस्तारको लागि शुभकामना व्यक्त गरे ।
समारोहमा उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले प्रतिस्पर्धी बजारमा सस्तो ब्याजदरमा दिइने क्रेडिट कार्ड ग्राहकको आयस्रोत एवं भुक्तानी क्षमताको आधारमा ग्राहकलाई २० हजारदेखि पाँच लाख रुपैयाँसम्मको क्रेडिट लिमिट दिन सकिने बताए । डिजिटल बैंकिङ विभागका प्रमुख ऋषिराम ढकालले क्रेडिट कार्डबाट ग्राहकले दैनिक रकम भुक्तानी, अनलाइन सपिङ, तोकिएको सीमाभित्र रहेर नगद समेत झिक्न मिल्ने सुविधा रहेको बताए ।
बैंकको हाल ७७ जिल्लामा दुई सय ४७ वटा शाखा कार्यालय, दुई सय नौवटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ । उक्त समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत सरस्वती अधिकारी, विभागीय प्रमुखहरू, बैंकमा क्रियाशिल ट्रेड युनियनका अध्यक्षहरूलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।