लन्डन । ह्याकरको समूहले ६० करोड अमेरिकी डलर चोरेका छन् । यसलाई अहिलेसम्मकै ठूलो क्रिप्टोकरेन्सी लुट मानिएको छ । बीबीसीका अनुसार ब्लकचेन साइट पोली नेटवर्कले आफ्नो सिस्टम ह्याक गरी एथरजस्ता हजारौँ डिजिटल टोकन लिएको बताएको छ ।
सामाजिक सञ्जाल ट्विटरमा पत्र ट्विट गर्दै कम्पनीले सञ्चारसम्पर्कमा रहन र लुटेको सम्पत्ति फिर्ता गर्न ह्याकरलाई आग्रह गरेको छ । यो ह्याक अहिलेसम्मकै ठूलो हो । पत्रमा पोली नेटवर्कले ह्याकरलाई उनीहरुले चोरेको सम्पत्ति इतिहासकै ठूलो रहेको बताएको छ । पत्रमा भनिएको छ, ‘जुनै देशका भए पनि यसलाई सरकारी अधिकारीले ठूलो अपराध मान्ने र ह्याकरको खोजी गर्नेछ ।’
प्रारम्भिक अनुसन्धानमा कन्ट्राक्ट कलहरुबीचमा ह्याकर सफल भएको पाइएको पनि कम्पनीले जनाएको छ । कम्पनीले धेरै एक्सचेन्जलाई क्वाइन डिपोजिट ब्लक गर्न अनुरोध गरेको छ । ह्याकरले लाखौँ डलरका टोकन छुट्टै क्रिप्टोकरेन्सी वालेटमा ट्रान्सफर भएपछि कम्पनीले यस्तो आग्रह गरेको हो । ह्याकरले २६ करोड ७० लाख अमेरिकी डलरको एथर करेन्सी, २५ करोड २० लाख डलरबराबरको बाइनान्स क्वाइन र झण्डै आठ करोड ५० लाखको यूएसडीसी टोकन चोरेका छन् । एथर र बाइनान्स दुवै छुट्टै विकास गरिएका क्रिप्टोकरेन्सी सिस्टम हुन् ।