लन्डन । अहिलेसम्मकै ठूलो क्रिप्टोकरेन्सी ह्याकिङ घटनामा ह्याकरले चोरेको मध्ये आधा सम्पत्ति फिर्ता गरेका छन् । बीबीसीका अनुसार पोली नेटवर्कबाट चोरेको मध्ये २६ करोड डलरको सम्पत्ति फिर्ता गरेका हुन् । मंगलबार कम्पनीले ह्याकरलाई समाधानका लागि सञ्चारसम्पर्कमै रहन अनुरोध गरेको थियो । त्यसलगत्तै ह्याकरले आफूहरु पैसामा मतलब नराख्ने भन्दै सम्पत्ति फिर्ता गर्ने सन्देश छोडेका थिए । बुधबार उक्त परिमाणको सम्पत्ति फिर्ता भएको कम्पनीले जनाएको हो ।
ब्लकचेन कम्पनीले प्रयोगकर्तालाई फरक किसिमका डिजिटल टोकन स्वाप गर्न दिन्छ । कम्पनीबाट ह्याकरले ३३ लाख डलर बराबरको एथेरियम, २५ करोड ६० लाख डलर मूल्यबराबरको बाइनान्स क्वाइन र १० लाख डलर मूल्य बराबरको पोलिगन चोरेका थिए । त्यसमध्ये ह्याकरले २६ करोड ९० लाख डलरको एथर टोकन र आठ करोड ४० लाख डलरबराबरको पोलिगन टोकन फिर्ता गर्न बाँकी छ ।