काठमाडौ । सेयर बजार मौद्रिक नीतिको आंशिक प्रभाव देखिएको छ । शुक्रबार चालु आवको मौद्रिक नीति घोषणा भएपछिको पहिलो दिन आज आईतबार सेयर बजार परिसुचक उच्च अंकले ओरालो लागेपनि कारोवार रकम भने झण्डै २२ अर्ब रुपैयाँ पुुगेको छ । केन्द्रिय बैंकले चालु आवको मौद्रिक नीति मार्फत सेयर धितो कर्जा लगायतका बिषयमा कडाई गर्ने नीति लिएसंगै सेयर बजारमा यसको नकारात्मक प्रभाव देखिएको छ ।
आज सेयर बजार परिसुचक २४ दसमलव ८८ अंकले ओरालो लागेर तीन हजार एक सय ५४ दसमलव तीन अंकमा झरेको छ । बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव नौ अंकले ओरालो लागेर पाँच सय ८९ दसमलव २८ अंकमा सिमित भएको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २२ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट एक लाख ८९ हजार सात सय ३६ पटकको कारोवारमा तीन करोड ५५ लाख ५० हजार छ सय ८८ कित्ता सेयर किनबेच भएका छन् । सोही आधारमा आज कुल सेयर कारोवार रकम २१ अर्ब ६४ करोड ७६ लाख छ सय ५५ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुह मध्ये तीन वटा उपसमुहको सुचक उकालो लागेपनि बाँकी १० वटा उपसमुहरुको सुचक ओरालो लागेका छन् । ति मध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, फाईनान्स, अन्य र सामुहिक लगानी कोष उपसमुहरुको सुचक ओरालो लागेका छन् भने उत्पादनमुलक, लघुबित्त र लगानी उपसमुहको सुचक भने उकालो लागेका छन् ।