सोल । सामसङ कम्पनीका उत्तराधिकारी लि जाइ योंग दक्षिण कोरियाली जेलबाट छुटेका छन् । बीबीसीका अनुसार योंग सशर्त जेलमुक्त भएका हुन् । घुसकाण्डमा मुछिएका उनी जेलमा दुई सय सात दिन रहे । दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गुइन हेसमेत मुछिएको घुस र भ्रष्टाचार काण्डमा योंग पनि तानिएका थिए ।
पूर्वराष्ट्रपति भने अझै जेलमै छिन् । सामसङ इलेक्ट्रोनिक्स योंगका हजुरबाले स्थापना गरेका थिए । सन् २०१४ यता योंगले प्रमुखको भूमिका निर्वाह गरिरहेका छन् । ‘मैले धेरै मानिसको ध्यानाकर्षण गराएँ, म गम्भीर भएर माफी चाहन्छु’, जेलमुक्त भएपछि योंगले भने, ‘यी ध्यानाकर्षण, आलोचना, चिन्ता र मप्रतिका आशाहरू मैले सुनिरहेको छु, म कडा मिहिनेत गर्नेछु ।’
५३ वर्षीय योंगलाई एक उच्च अदालतले जनवरीमा साढे दुई वर्षको जेल सजाय गरेको थियो । उनीमाथि ४३ अर्ब वन (कोरियाली मुद्रा) दुईवटा पूर्वराष्ट्रपति पार्कको साथी चोई सुन सिलले सञ्चालन गरेका गैरनाफामूलक संस्थालाई राजनीतिक सहयोगका लागि दिएको आरोप लागेको थियो । त्यसमा सामसङको विवादित मर्जरलाई समर्थन गर्ने कुरा पनि जोडिएको थियो । त्यो सम्झौताका लागि सरकारी राष्ट्रिय निवृत्तिभरण कोषको सहयोग आवश्यक पर्दथ्यो ।
यो मुद्दामा फैसला सुनाउँदै अदालतले योंगकाके क्रियाकलापमा घुस र राष्ट्रपतिलाई आफ्नो शक्ति दुरुपयोग गरी आफूलाई सामसङको प्रमुख बनाउन लगाएको बताएको थियो । अदालतले योंगलाई घुसलगायतका विभिन्न आरोपमा दोषी ठहर गरेको थियो । कोरियाली न्याय मन्त्रालयले योंगलाई महामारीले अर्थतन्त्र प्रभावित पारिरहेका बेला जेलमुक्त गर्ने निर्णय गरेको बताएको छ ।
कोरियाली राष्ट्रपतिको कार्यालयले पनि राष्ट्रिय चाहनाका खातिर यस्तो निर्णय लिएको प्रतिक्रिया दिएको बताइएको छ । तर योंगको रिहाइ सशर्त भएको बताइएको छ । उनलाई पाँच वर्षसम्म व्यवसायमा कडाइ गरिएको छ । यसले उनले कम्पनीको नेतृत्वदायी भूमिका निर्वाह गर्ने नगर्ने खुलेको छैन । यसबाहेक विदेश जान पनि सरकारी स्वीकृति अनिवार्य गरिएको छ ।