काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन सहकारीहरूलाई आग्रह गरेका छन् । सहकारीहरूले घरजग्गा वा अन्य यस्तै अनुत्पादक क्षेत्रमा मात्रै लगानी गरिरहेको आफूले सुनेको भन्दै मन्त्री शर्माले उत्पादनको क्षेत्रमा लगानी बढाउन आग्रह गरेका हुन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)को ३४औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले घर, जग्गा वा गाडी खरिदमा लगानी गर्नुको कुनै अर्थ नरहेको बताए । कम्तीमा लगानीको ६० प्रतिशत हिस्सा उत्पादनमा लगाएर गरिबी निवारणमा सहयोग गर्न उनले सहकारीहरूलाई आग्रह गरे । त्यसमा कुनै समस्या भए समाधान गर्न सरकार तयार रहेको उनको भनाइ थियो । त्यस्तै उनले सहकारीहरूले गरिब जनताले लिएको ऋणमा १८ प्रतिशतसम्म ब्याज लिने गरेको भन्दै असन्तुष्टि जनाए । ब्याजदर घटाउनतर्फ लाग्न पनि उनले सहकारीहरूलाई सुझाए ।
कतिपय सहकारीहरूले जनताको पैसा ठगेर उठिबास लगाएका घटनाहरू देखिएको भन्दै मन्त्री शर्माले त्यसतर्फ नेफ्स्कुनले ध्यान दिनुपर्ने बताए । उनले सहकारीका संस्थापकहरूले नै जनताको सम्पत्ति हिनामिना गर्ने क्रमलाई रोक्न नेफ्स्कुनले भूमिका खेल्ने पनि विश्वास गरे । अहिलेसम्म स्थिरीकरण कोष खडा नभएको प्रति असन्तुष्टि व्यक्त गर्दै उनले एक महिनाभित्र खडा गरेर आफूलाई जानकारी गराउन आग्रह समेत गरे ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघमा चार हजार प्रारम्भिक संस्थाहरू तथा प्रदेश र जिल्ला बचत संघहरूमार्फत सात हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरू आबद्ध रहेका छन् । देशका ७६ जिल्लामा पहुँच रहेको सहकारीहरूमा ३४ लाख व्यक्तिगत सदस्यहरू आबद्ध रहेको नेफ्स्कुनले जनाएको छ ।