काठमाडौं । नेपाल बंगलादेश बैंकद्वारा नवौं विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ । बैंकले कास्की जिल्ला, पोखरा महानगरपालिकाको वडा नं. ३० खुदी ढुंगेपाटनमा आफ्नो नवौँ विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको हो ।
उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन पोखरा महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष श्रीराम पोखरेलले गरेका हुन् । पोखरा महानगरपालिकामा खोलिएको यस विस्तारित सेवा केन्द्रले महानगरपालिकाको वार्ड नम्बर २९,३०,३१,३२ तथा ३३ मा वित्तीय पहुँच पु-याई हरेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पु-याउने उद्देश्यका साथ बैंकले आफ्नो सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । उक्त विस्तारित सेवा केन्द्र पोखरा विश्वविद्यालय हाता नजिकै खोलिएकाले विश्वविद्यालयमा अध्ययनरत विद्यार्र्थी तथा शिक्षकवर्ग पनि लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
यो विस्तारित सेवा केन्द्रबाट यस भेगमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सघाउ पुग्नुका साथै विदेशबाट प्राप्त हुने रेमिटान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ तथा व्यवसायजन्य कारोबारका लागि लागि अन्यत्र टाढा जान नपर्ने, सामाजिक सुरक्षालगायत नेपाल सरकारबाट बंंैकिङ प्रणालीमार्फत प्राप्त हुने सम्पूर्ण सेवाहरू सजिलै प्राप्त गर्ने, शिक्षक एवं कर्मचारीहरूको तलबी खाता सञ्चालन गर्न सहज हुनेलगायतका सुविधाहरू सहजै प्राप्त हुने बैंकले जानकारी गराएको छ । ‘सबैंका लागि बैंक’ भन्ने मूल उद्देश्यसहित स्थापनाको २७औं वर्ष पूरा गरेको नेपाल बंगलादेश बैंकले आफ्ना एक सय शाखा, आठवटा एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।