काठमाडौं । फाइनान्स कम्पनीहरुको नाफामा कोरोना भाइरस (कोभिड १९) को प्रभाव देखिएको छ । सरकारले विश्वव्यापीरुपमा फैलिएको कोभिड १९ को महामारी नियन्त्रण तथा रोकथामको लागि भन्दै विभिन्न समयमा जारी गरेको लकडाउन र निषेधाज्ञाका कारण आर्थिक संकुुचनको प्रभाव फाइनान्सहरुको नाफामा देखिएको हो ।
हाल क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २० वटा फाइनान्स कम्पनीहरु सञ्चालनमा छन् । ती फाइनान्सहरुले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को अपरिष्कृत वित्तीय विवरणको तुलनात्मक अध्ययन गर्दा मञ्जुश्री फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, गुडविल फाइनान्स, रिलायन्स फाइनान्ससहित आधा दर्जनको खुद मुनाफा बढेको देखिए पनि बाँकीको नाफा भने अघिल्लो आवको तुलनामा घटेको छ । नाफा घट्ने फाइनान्सहरु श्री इन्भेष्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स, नेपाल फाइनान्स, जानकी फाइनान्स आदि परेका छन् ।
अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्ने कम्पनीहरुमध्ये मञ्जुुश्री फाइनान्सको नाफा सबैभन्दा बढी देखिएको छ । मञ्जुश्रीले आर्थिक वर्ष २०७७/०७८ मा ५६ करोड ८१ लाख १८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने मञ्जुश्रीको यस्तो नाफा २६ करोड ३२ लाख ४४ हजार रुपैयाँ रहेको थियो । गोर्खाज फाइनान्सले भने आव २०७७/०७८ मा २० करोड १८ लाख ९६ हजार तीन सय ३७ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने गोर्खाजको यस्तो नाफा सात करोड ९४ लाख ९३ हजार नौ सय नौ रुपैयाँले ऋणात्मक रहेको थियो । यसैगरी आईसीएफसी फाइनान्सले पनि आव २०७७/०७८ मा १९ करोड ६२ लाख ७३ हजार सात सय ५१ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा आईसीएफसीको यस्तो नाफा १० करोड ४३ लाख ५३ हजार आठ सय ३१ रुपैयाँ रहेको थियो ।
आव २०७७/०७८ मा गुडविल फाइनान्सले भने १८ करोड ३१ लाख ९२ हजार पाँच सय ३९ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा गुडविलको यस्तो नाफा १० करोड ७८ लाख ५१ हजार दुई रुपैयाँ रहेको थियो । यसैगरी रिलायन्स फाइनान्सले पनि आव २०७७/०७८ मा १३ करोड ६६ लाख नौ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही समयमा रिलायन्सको यस्तो नाफा १० करोड २५ लाख ३३ हजार रुपैयाँ रहेको थियो । पोखरा फाइनान्सले पनि आव २०७७/०७८ मा १२ करोड ७० लाख ८२ हजार सात सय ७८ रुपैयाँ खुद मुनाफा कमाएको छ ।
अघिल्लो आवको फाइनान्सको यस्तो नाफा सात करोड ३० लाख १४ हजार तीन रुपैयाँ रहेको थियो । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स भने आव २०७७/०७८ मा ११ करोड ४० लाख ४४ हजार तीन सय ९३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा फाइनान्सको यस्तो नाफा ११ करोड ३७ लाख ५४ हजार सात सय २६ रुपैयाँ रहेको थियो । गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीले पनि आव २०७७/०७८ मा १० करोड १९ लाख ७३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा उक्त फाइनान्सको यस्तो नाफा छ करोड २७ लाख ६६ हजार रुपैयाँ रहेको थियो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार सेन्ट्रल फाइनान्सले भने आव २०७७/०७८ मा १० करोड ९२ लाख ३० हजार पाँच सय ८४ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो उक्त फाइनान्सको यस्तो नाफा आठ करोठ ६३ लाख ५३ हजार नौ सय ११ रुपैयाँ रहेको थियो । बेष्ट फाइनान्स कम्पनीले पनि आव २०७७/०७८ मा आठ करोड २३ लाख ८३ हजार एक सय ५१ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा बेष्टको यस्तो नाफा सात करोड ७३ लाख २५ हजार सात सय छ रुपैयाँ रहेको छ ।
प्रोग्रेसिभ फाइनान्सले भने आव २०७७/०७८ मा चार करोड ११ लाख ५२ हजार चार सय ५४ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा प्रोग्रेसिभको यस्तो नाफा तीन करोड ४९ लाख ९६ हजार दुुई सय ३१ रुपैयाँ रहेको थियो । नेपाल फाइनान्सले पनि आव २०७७/०७८ मा दुई करोड ६२ लाख २८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा नेपालको यस्तो नाफा चार करोड ४६ लाख १५ हजार रुपैयाँ रहेको थियो । मल्टिपर्पस फिनान्सले भने आव २०७७/०७८ मा एक करोड ५५ लाख ३५ हजार ७६ रुपैयाँ खुद मुनाफा कमाएको छ ।
अघिल्लो आवमा मल्टिपर्पसको यस्तो नाफा एक करोड ३९ लाख छ हजार नौ सय ५७ रुपैयाँ रहेको थियो । जानकी फाइनान्सले आव २०७७/०७८ मा छ करोड ३५ लाख १२ हजार छ सय १७ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा सात करोड ९६ लाख ७७ हजार पाँच सय ८२ रुपैयाँ रहेको थियो । यसैगरी समृद्धि फाइनान्सले भने आव २०७७/०७८ मा ४४ लाख ९९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा समृद्धिको यस्तो नाफा तीन करोड २८ लाख ७७ हजार रुपैयाँ रहेको थियो । यीबाहेकका अन्य फाइनान्सहरुको नाफा पनि सन्तोषजनक देखिएको छ ।
