ढाका । रूसले बंगलादेशबाट आँप किन्ने इच्छा व्यक्त गरेको छ । बंगलादेशी कृषि मन्त्रालयका अनुसार ढाकास्थित रुसी राजदूत अलेजेन्डर भिकेन्त्येभिच मान्त्यात्स्काईले कृषिमन्त्री मुहम्मद अब्दुर रजाकसँगको भेटमा उक्त चाहना व्यक्त गरेका हुन् ।
‘बंगलादेशी आँप स्वादिलो र उच्च गुणस्तरको भन्दै रुसले आयात गर्न चाहेको राजदूतको भनाइ थियो’, द डेलिस्टार अनलाइनले भनेको छ, ‘रुसमा आँप निर्यातको ठूलो सम्भावना बंगलादेशसामु छ ।’
बंगलादेश आँप उत्पादनमा विश्वकै सातौँ ठूलो उत्पादक हो । गत सिजनमा बंगलादेशमा एक लाख ९० हजार हेक्टरमा २४ लाख ६८ हजार टन आँप उत्पादन भएको थियो । आर्थिक वर्ष २०२०/०२१ मा निर्यातकर्ताहरुले सात सय ९१ टन आँप निर्यात गरेका थिए । राजदूतसँगको भेटमा कृषिमन्त्री रजाकले बंगलादेशले रुसबाट डायमोनियम फोस्फेट र पोटासियम मल जीटुजी मोडलमा आयात गर्न चाहेको बताएका थिए ।