अमेरिका । विश्वकै ठूलो भर्चुअल मुद्रा बिटक्वाइनको मूल्य फेरि आकाशिएको छ । एजेन्सीहरुका अनुसार बिटक्वाइनको मूल्य तीव्रदरले बढ्नथालेको हो । योसँगै डिजिटल मुद्रा ५० हजार अमेरिकी डलरसम्म पुगेको छ । शनिबार अमेरिकी सहर न्युयोर्कमा प्रतिबिटक्वाइन मूल्य ४९ हजार सात सय चार अमेरिकी डलरमा कारोबार भएको थियो । जुन मे १६ यताकै उच्च मूल्य हो । मध्यअप्रिलतिर बिटक्वाइन ६५ हजार अमेरिकी डलरसम्म पुगेको थियो ।
क्रिप्टो एक्सचेन्ज सीईएक्स.आईओका कार्यकारी निर्देशक कोन्स्टान्टिन एनिसिमोवले बिटक्वाइनको अगाडिको मुख्य चुनौती भनेकै ५० हजार डलर पुगेर त्यही तहमा टिकिरहनु भएको बताए । अहिले आएको बिटक्वाइनको तीव्र वृद्धिलाई उनी त्यस्तै धेरै बढेको मान्न तयार छैनन् । यदि नयाँ क्रेता जोडिए भने यो ५० हजार डलरसम्म पुग्नसक्ने उनको भनाइ छ । त्यस्तै असाध्यै बढे पनि यो ५५ हजार अमेरिकी डलरसम्म मात्र पुग्नसक्ने उनले बताए ।
त्यसो त विश्वमा बिटक्वाइन स्वीकार्ने हिसाबले आठ सय ८१ प्रतिशतले वृद्धि भएको छ । अप्रिलको आधाआधीतिर बिटक्वाइनको मूल्य ६५ हजार पुगे पनि त्यसपछि धेरै नै गिरावट आएको थियाो । पछिल्लो हप्तादेखि अहिले ३० हजारबाट ४० हजार डलर प्रतिबिटक्वाइन कारोबार भएको थियो । यसका बाबजुद पछिल्लो एक वर्षमा बिटक्वाइनको मूल्य बढिरहेको छ । संस्थागत लगानीकर्ता र पल टुडोर जोन्स तथा स्ट्यान ड्र्युकेनमिलरजस्ता चिरपरिचित नामले बिटक्वाइनलाई स्वीकारेसँगै यसको मूल्य बढिरहेको छ । चेनालाइसिसका अनुसार पछिल्लो १२ महिनामा विश्व क्रिप्टो स्वीकारमा आठ सय ८१ प्रतिशतले वृद्धि भएको छ ।