काबुल । अमेरिकी नेतृत्वको सेनाले विमानमार्फत अझै हजारौँको उद्धार बाँकी रहेको बताइरहँदा अफगानिस्तानको काबुल विमानस्थलबाहिर ठूलो विस्फोट भएको अमेरिकी सेनाले बिहीबार पुष्टि गरेको छ । विस्फोटमा कम्तीमा १३ जनाको मृत्यु भएको र कैयौँ घाइते भएका छन् ।
अमेरिकी नेतृत्वको पश्चिमी सेनाले विमानस्थल परिसरमा पुगेका हजारौँ मानिसको दैनिक उद्धार गरिरहेका समय विमानस्थल छोड्न तालिवान समूहले चेतावनी दिएको बताइएको छ । विमानस्थलमा एसियाली मुलुकका नागरिकहरू पनि उद्धारको पर्खाइमा रहेका हुनसक्ने अनुमान गरिएको छ । पेन्टागनका प्रवक्ता जोन कर्बीले भनेका छन्, ‘काबुल विमानस्थल बाहिर ठूलो विस्फोट भएको छ । यतिबेला विष्फोटबाट भएको हताहतबारे स्पष्ट जानकारी प्राप्त भएको छैन । थप विवरण प्राप्त हुँदासाथ दिइनेछ ।’
आत्मघाती बम आक्रमणकारीहरुले यसअघि नै विमानस्थलमा आक्रमण गर्ने धम्की दिँदै आएको अमेरिकी र सम्बद्ध अधिकारीहरूले गोप्य सूचना पाएको बताएका थिए । अमेरिकी सेनाले छिट्टै विमानस्थल छोड्ने अफबाह फैलिएपछि यसअघि कर्बीले एक ट्विटमार्फत सम्प्रेषित सन्देशमा ‘काबुलमा उद्धार कार्य ३६ घण्टामा पूरा नहुने र मिसनको अन्त्य नभएसम्म हामी सकेसम्म धेरै मानिसहरूलाई उद्धार गरिरहनेछौं’ भनेका छन् ।