काठमाडौं । श्रीलंकाले नेपालमा पर्यटन प्रवर्द्धन, जलविद्युत् र निर्माण क्षेत्रमा लगानी अभिवृद्धि एवं निर्यात वृद्धिका लागि सहयोग गर्ने भएको छ । नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको भेटमा नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणतिलकाले नेपाल र श्रीलंकाबीच लामो सांस्कृतिक सम्बन्ध रहेको भन्दै त्यसलाई अब औद्योगिक र व्यापारिक सम्बन्धले थप बलियो बनाउनुपर्ने बताए ।
परिसंघ कार्यालय थापाथलीमा भएको छलफलमा राजदूत अरुणतिलकाले नेपाली निर्यातकर्तालाई श्रीलंकामा सहज पहुँच र बजारका लागि आफूले पहल गर्ने बताए । ‘हामीले आर्थिक सम्बन्धलाई बलियो बनाउनुपर्नेछ’, उनले भने । दुई देशबीच सिधा हवाइ सेवा सुरु भएको भन्दै उनले यसले आपसी सञ्जाल विस्तारमा थप सहयोग गर्ने उल्लेख गरे । ‘हामी दुई देशका निजी क्षेत्रलाई पनि निकट बनाउँदै एक आपसमा लगानी अभिवृद्धि र आर्थिक सम्बन्ध विस्तारमा जोड्न सक्छौँ,’ उनले भने ।
छलफलमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालले औद्योगिक विकासका लागि आन्तरिक र बाह्य लगानीकर्ताबाट ठूलो लगानीको अपेक्षा गरेको भन्दै श्रीलंकाली लगानीकर्तालाई नेपालको विभिन्न क्षेत्रमा लगानी गर्न अभिप्रेरित गर्नुपर्ने बताए । ‘नेपाल सिमेन्ट, जुत्ता चप्पल जस्ता क्षेत्रमा आत्मनिर्भर हुँदै निर्यात गर्नसक्ने अवस्थामा छ, यसबाहेक धेरै क्षेत्रमा हाम्रो सम्भावना छन्, त्यस्ता क्षेत्रमा श्रीलंकाली लगानीकर्तालाई आकर्षित गर्न सकिन्छ’, उनले भने ।
छलफल कार्यक्रममा परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले एसियाली देशहरूका निजी क्षेत्रका संस्थालाई जोड्ने उद्देश्यले परिसंघको अगुवाइमा युनियन अफ एसिएन चेम्बर्स गठन गरिएको बताए ।