बेइजिङ । चिनियाँ इकमर्स कम्पनी अलिबाबाले चीन सरकारको ‘साझा समृद्धि’ अभियानमा सघाउन १ खर्ब युआन अर्थात् १५ अर्ब ५० करोड अमेरिकी डलर दान लगानी गर्ने भएको छ । चर्चित प्रविधि कम्पनीले शुक्रबार यस्तो घोषणा गरेको हो । घोषित रकम उसले सन् २०२५ सम्ममा पाँच प्राथमिकताअनुसार लगानी गर्नेछ । पाँच प्राथमिकतामा प्रविधिमा नवप्रवर्तन, आर्थिक विकास, रोजगारी सिर्जना, कमजोर समुदायलक्षित विशेष विकास योजनालगायत रहेका छन् ।
सीएनएनका अनुसार कम्पनीले चीनका कम विकसित क्षेत्रमा प्रविधि लगानी बढाउनेदेखि श्रमिकको सुविधामा सुधार, साना व्यवसाय र कृषि क्षेत्रको विकासलाई गति दिनको लागि १० विशिष्ट उद्देश्य प्राप्तिको योजना बनाएको हो । अलिबाबाले समृद्धि उन्नति कार्यसमिति समेत बनाइरहेको छ । त्यसका अध्यक्ष र सीईओ ड्यानियल झाङले सञ्चालन गर्नेछन् । समाजले समुन्नति हासिल गर्दा कम्पनी पनि लाभार्थी हुने अलिबाबाले जनाएको छ ।
यसअघि पिन्डुओडुओले ग्रामीण विकास परियोजनाको लागि पछिल्लो त्रैमासिकमा कमाएको पूरै नाफा सरकारी अभियानलाई दान दिने बताएको थियो । उसले चीनको कृषि क्षेत्र र ग्रामीण क्षेत्रको विकासको लागि ३७.२ करोड अमेरिकी डलर दान गर्नेछ । त्यस्तै अन्य कामका लागि कम्पनीले डेढ अर्ब डलर दान गर्ने योजना पनि बनाएको छ । अर्को कम्पनी टेन्सेन्टले पनि अगस्टमा साझा समृद्धिको लक्ष्य प्राप्त गर्न ७ अर्ब ७० करोड डलर दान गर्ने घोषणा गरेको थियो । उसले गरिबहरुको आयवृद्धि र शिक्षामा असमानताको अन्त्य गर्न मद्दतस्वरुप उक्त रकम दान गर्ने कम्पनीले उल्लेख गरेको थियो ।