सिंगापुर । कच्चा तेलको मूल्यमा गिरावट आएको छ । विश्वको ठूलो निर्यातकर्ता साउदी अरेबियाले एसियाका लागि आपूर्ति हुने कच्चा तेलको मूल्य घटाएका कारण सोमबार यसको मूल्यमा गिरावट आएको फक्स बिजनेसले जनाएको छ । यसले विश्व कच्चा तेल आपूर्ति राम्रो हुने संकेत गरेको छ । नोभेम्बरका लागि ब्रेन्ट क्रुड फ्युचरको मूल्य ५७ सेन्ट अर्थात् शून्य दशमलव आठ प्रतिशतले घटेर प्रतिब्यारेल ७२.०४ अमेरिकी डलर पुगेको छ । त्यस्तै अक्टोबरका लागि अमेरिकी कच्चा तेल वेस्ट टेक्सस इन्टरमेडिएट क्रुड ५६ सेन्ट अर्थात् शून्य दशमलव आठ प्रतिशतले घटेर प्रतिब्यारेल ६८.७३ अमेरिकी डलर पुगेको छ ।
आइतबार साउदी अराम्कोले ग्राहकहरुलाई अक्टोबरको लागि एसियामा आपूर्ति हुने सबै ग्रेडको कच्चा तेलको मूल्य घटाउने जानकारी दिएको थियो । एसियामा अराम्कोले सबैभन्दा धेरै कच्चा तेल बेच्छ । उक्त क्षेत्रमा आपूर्ति हुने कच्चा तेलमा कम्तीमा एक अमेरिकी डलर प्रतिब्यारेल मूल्य कटौती हुने कम्पनीले जनाएको छ । जुन एसियन प्रशोधनकर्ताले अनुमान गरेभन्दा धेरै कटौती भएको बताइएको छ । अराम्कोमात्रै होइन, शुक्रबारको कमजोर नयाँ रोजगारी सिर्जनाबारेको अमेरिकी रिपोर्टका कारण पनि क्रुड फ्युचरको मूल्य घट्नुमा कारण मानिएको छ ।
अमेरिकामा पुनः कोरोना प्रभाव बढ्दै गर्दा कच्चा तेलको मागमा पनि कमी आउनसक्ने भएकाले यसको प्रभाव मूल्यमा देखिएको बताइएको छ । त्यस्तै इदा आँधीले आपूर्तिमा अवरोध गरेकोले त्यसमा पनि ध्यानाकर्षण भएको अनुमान छ । अमेरिकी गल्फ कोस्टमा कच्चा तेल उत्पादन संघर्षपूर्ण अवस्थामा रहँदा अमेरिकी सरकारले रणनैतिक पेट्रोलियम भण्डारगृहबाट कच्चा तेल निकालिरहेको छ ।