दोलखा ।लामो समय कोरोना भाइरसले प्रभावित बनेको दोलखाको सदरमुकाम चरीकोटमा पछिल्लो समय मानिसहरूको चहलपहल बढेको छ । नेपालीहरूको मुख्य चाडपर्व र पछिल्लो समय जिल्लामा हुने राजनीति दलका गतिविधिले पनि बजार चहलपहल बनेको हो ।चाडपर्वको अलवा हाल नेपाली कांग्रेसको १४औँ महाधिवेशनको कारण पनि जिल्लामा मानिसहरूको चहलपहल बढको हो । गत शुक्रबार वडा अधिवेशन सकेको कांग्रेसले भदौ २७ मा पालिका अधिवेशन गर्दै छ ।
वडा अधिवेशनको सम्पन्न गरी पालिका अधिवेशनको तयारीका लागि पनि कांग्रेसका नेता तथा कार्यकर्ताहरू सदरमुकाममा जम्मा भएकोले बजार भरिभराउ देखिएको हो । यस्तै नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी दोलखाले पनि भदौ २५ गते जिल्ला सम्मेलन गर्ने तयारी गरिरहेको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला अधिवेशन पनि भदौ २८ गते तोकिएकोले पनि सदरमुकाम चरीकोटमा राजनीतिक माहोल तातेको छ । नजिकिँदै गरेको चाडपर्व र बढ्दो राजनितिक गतिविधिले लामो समयदेखि कोरोनाका कारण थलिएका होटल व्यवसायीहरूले भने राहत महसुस गरेका छन् ।
लामो समय सुनसान बेनेको होटल व्यवसाय क्षेत्र समेत अहिले राजनीति दलको भेटघाट र बसोबासले भरिभराउ देखिन थालेका छन् । यस्तै नेकपा एमालेले पनि जिल्लामा विभिन्न कार्यक्रम गर्दै आएका छ । एमालेले पनि आगामी मंसिरमा अधिवेशन गर्ने तयारी गरिरहेकोले विभिन्न राजनितिक गतिविधि सञ्चालन गरिरहेको छ । यतिबेला जिल्लामा रहेका होटलमा राजनीति दलका नेता कार्यकर्ताहरू मात्रै भेटिने गरेको स्थानीय उपेन्द्र सुवेदी बताउँछन् । कोरोनाले सुनसान बनेको निजी क्षेत्रलाई राजनीति दल र नजिकिँदै गरेका चाडपर्वले केही ढाडस दिएको छ । यस्तै बजारमा चहलपहल बढेसँगै जिल्लाका धार्मिक स्थलमा पनि मानिसको ओहोरदोहोर बढेको छ ।