काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले लकर सुविधामा छुट दिने भएको छ । बैंकका अनुसार हरितालिका तीजको अवसरमा महिलाहरूलाई लक्षित गर्दै लकर सुविधामा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको हो । यो व्यवस्था बुधबारदेखि कार्यान्वयनमा ल्याइएको बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार तीन महिनाभित्र लकर सुविधा लिने ग्राहकहरूले यो छुट पाउनेछन । लकर सुविधाबाट लाभ उठाई आफ्नो बहुमूल्य सामान सुरक्षित राख्न समेत बैंकले ग्राहकलाई आग्रह गरेको छ । बैंकले आर्थिक वर्ष २०७७–०७८ मा ४१ करोड ६९ लाख ३० हजार पाँच सय ८६ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १९ करोड १० लाख ९७ हजार आठ सय १३ रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
चुक्ता पुँजी दुई अर्ब ७३ करोड ६९ लाख ७२ हजार चार सय २० रुपैयाँ रहेको बैंकले आव २०७७–०७८ मा ४१ अर्ब ७९ करोड ७३ लाख ५० हजार ४० रुपैयाँ निक्षेप संकलन गरी ३३ अर्ब नौ करोड ५२ लाख २३ हजार आठ सय ६७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब १९ करोड ७९ लाख ३५ हजार पाँच सय ७१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव २९ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा २८ करोड ८३ लाख ९३ हजार तीन सय ७६ रुपैयाँ रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने बैंकले २८ अर्ब १३ करोड २६ लाख ९६ हजार आठ सय ४८ रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ९३ करोड ४३ लाख ९७ हजार पाँच सय ७३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब पाँच करोड दुई लाख ९८ हजार सात सय १९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव १३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ५७ प्रतिशत रहेको थियो ।