नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट एकैदिनमा थप ११ हजार चार सय ५१ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा अरु दुई सय ६६ जनाको कारोनाभाइरसका कारणले मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयअनुसार पछिल्लो एक दिनमा १३ हजार दुई सय चार जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् ।
एएनआईका अनुसार एउटै अवधिमा नयाँ संक्रमितहरुको संख्याभन्दा संक्रमणमुक्त भएकाहरुको संख्या धेरै भएकाले संक्रमित अवस्थामै रहेकाहरुको संख्या घट्दै गएको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको कुल संख्या एक लाख ४२ हजार ८२६ रहेको छ । यो संख्या २६२ दिनपछिकै सवैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ । भारतमा अहिले पनि कोरोनाभाइरसको महामारीको प्रभाव सवैभन्दा धेरै केरला राज्यमा देखिएको छ। केरलामा मात्रै पछिल्लो २४ घण्टामा पनि सात हजार एक सय २४ जना नयाँ संक्रमित थपिएका छन् भने २१ जनाको मृत्यु भएको छ ।