काठमाडौँ । बैंक तथा फाइनान्स कम्पनीहरूले छ खर्ब ४८ अर्ब ३१ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो दुई महिनामा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, १८ क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १८ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीहरूले उक्त उक्त परिमाणमा अन्तरबैंक कारोबार गरेका हुुन् । सोमध्ये वाणिज्य बैंकहरूले मात्र चालू आवको दुुई महिनामा पाँच खर्ब ५७ अर्ब ३० करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् । यसबाहेक विकास बैंक र फाइनान्स कम्पनीहरूले भने यस अवधिमा थप ९१ अर्ब एक करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेका छन् । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरूले ३७ अर्ब ६२ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए । जसमध्ये वाणिज्य बंैंकहरूले मात्र सात अर्ब ३८ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए भने अन्य विकास बैंक तथा फाइनान्स कम्पनीहरूले ३० अर्ब २४ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए । सोही आधारमा २०७७ भदौमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर शून्य दशमलव १३ प्रतिशत रहेकोमा २०७८ भदौमा तीन दशमलव ९८ प्रतिशत राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०७७ भदौमा शून्य दशमलव शून्य आठ प्रतिशत रहेकोमा २०७८ भदौमा चार दशमलव ७५ प्रतिशत रहेको छ । मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रूपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७८ भदौमा चार दशमलव ६८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो ब्याजदर शून्य दशमलव २१ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूको औसत आधार दर २०७७ भदौमा सात दशमलव ८३ प्रतिशत रहेकोमा २०७८ भदौमा छ दशमलव ८९ प्रतिशत कायम भएको छ । २०७८ भदौमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर चार दशमलव ९२ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर आठ दशमलव ५७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरू क्रमशः पाँच दशमलव ६१ प्रतिशत र १० दशमलव १८ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।