काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय केही वस्तुको आयातमा कडाइ गरिएको बताएका छन् । नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै उनले वैध रूपमा अवैध काम भइरहेकोले भन्सारमा कडाइ गरिएको जानकारी दिए । आयातमा कडाइ गर्न थालेपछि ठूलो मात्रामा सुन भित्रिने गरेको पाइएको उनले बताए ।
‘वैध रूपमा अवैध काम भइरहेको छ यहाँ’, अवैध रूपमा सुन भित्रिइरहेको प्रति संकेत गर्दै उनले भने, ‘सुनको बाला बनायो अनि लगाएर आयो । त्यस्तालाई केही समय जफत नगरौँ भनेर नीति लिएर निगरानी गर्दा दैनिक २१/२२ किलो सुन आएको भेटियो ।’ उनले त्यस्ता सुनको भन्सार लिएर छोडिएको समेत जानकारी दिए । यसैगरी उनले मोबाइलको पनि नेपालमै उत्पादन कम्पनी स्थापना गर्न व्यवसायीहरूलाई आग्रह गरे । त्यसका लागि अर्थ मन्त्रालयको तर्फबाट सहजीकरण गर्न तयार रहेको समेत व्यवसायीहरूलाई विश्वास दिलाए । मोबाइल पनि धेरै मात्रामा अवैध रूपमा भित्रिने गरेको उनको भनाइ छ ।
यसैगरी अर्थमन्त्री शर्माले अदालतको ‘स्टे अर्डर’ले गर्दा विकास निर्माणका काममा ढिलाइ हुने गरेको बताए । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को रजत जयन्ती तथा सेजन अवार्ड वितरण समारोहलाई बुधबार सम्बोधन गर्दै उनले विकास निर्माणका लागि छुट्टै कानुनको आवश्यकता रहेको उल्लेख गरे । त्यसका लागि ऐन संशोधनको कार्य अघि बढेको पनि उनले जानकारी दिए ।
‘सामान्य बाटो खन्दा अदालतबाट स्टे अर्डर हुन्छ, त्यसले बाटो बनाउन समस्या उत्पन्न हुन्छ । योसँगै जग्गा अधिग्रहण, वातावरणीय अध्ययन वर्षौँ लाग्नेलगायतका कुरा छन्’, उनले भने, ‘यसका लागि छुट्टै विकास ऐनको आवश्यकता महसुस भएको छ । अहिले त्यसको तयारी भइरहेको छ ।’ यस्तै उनले अहिलेको खर्च प्रणालीले भनेअनुसार लक्ष्य प्राप्त नभइरहेकाले नयाँ विधि अवलम्बन गर्नुपर्नेमा पनि जोड दिए । ‘अहिले जे छ, त्यहीँ प्रणालीले भनेअनुसार खर्चको लक्ष्य प्राप्त नभइरहेको अवस्थामा नयाँ तरिका ल्याउनुपर्ने आवश्यकता पनि देखिएको छ’, उनले भने, ‘नयाँ मोडालिटी ल्याउने कुरामा पनि छलफल भइरहेको छ ।’