काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले व्यावसायिक तथा सीप विकास तालिम केन्द्र सातवटै प्रदेशमा विस्तार गरिने बताएका छन् । तालिमकेन्द्रको ललितपुरमा पुननिर्मित भवन उद्घाटन गर्दै मन्त्री श्रेष्ठले स्वदेशी तथा विदेशी श्रम बजारमा प्रतिस्पर्धा गर्न तथा नयाँ श्रमशक्तिको लागि पर्याप्त रोजगारी सिर्जना गर्न सीप तथा उद्यमशीलता अभिवृद्धिका लागि तालिम केन्द्रहरु देशभर विस्तार गर्न लागिएको बताएका हुन् ।
उत्पादनशील रोजगारीका अवसरहरू अभिवृद्धि गरी नागरिकको जीवनस्तरमा सुधार, उच्च र दिगो आर्थिक विकासका लागि व्यावसायिक तथा सीप विकास तालिम केन्द्र तत्कालै प्रदेशस्तरमा लगिने र स्थानीय तहसम्म विस्तार गरिने उनले बताए । स्वदेशी तथा विदेशी श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने उद्यमशील, दक्ष, सीपयुक्त, श्रमशक्ति विकास गरी बेरोजगारी समस्या न्यूनीकरण गर्न तालिम केन्द्रहरु विस्तार गर्नुपर्ने उनको भनाइ छ । उनले आफ्नो कार्यकालमा वैदेशिक रोजगारीमा देखिएका सबै समस्या समाधान गर्ने र रोजगारीका पर्याप्त अवसर सिर्जना गर्न आधार खडा गर्ने बताए । वैदेशिक रोजगारीका क्रममा हुने ठगी नियन्त्रणका लागि छुट्टै संयन्त्र निर्माण गर्न लागिएको मन्त्री श्रेष्ठको भनाइ छ । वैदेशिक रोजगारबाट आर्जन भएको सीप, प्रविधि र अनुभवलाई स्वदेशमै उत्पादनमूलक क्षेत्रमा प्रोत्साहन गर्ने सरकारको नीति रहेको उनले बताए ।
कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्यालले नयाँ भवन निर्माण भएपछि तालिम तथा विभिन्न किसिमका परीक्षा सञ्चालन गर्न सहज हुने बताए । २०७२ सालमा गएको भूकम्पका कारण भत्केको व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, भैँसेपाटी, ललितपुरको भवन हालै निर्माणसम्पन्न भएको थियो । नौ करोड २४ लाख लागतमा निर्माण भएको पाँच तले भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यन्वयन एकाइले निर्माण गरेको हो ।