काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडको १५औँ वार्षिक साधारणसभा सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७७/७८ को कुल मुनाफाबाट बैंकले आफ्ना सेयरधनीहरूलाई प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र तीन दशमलव पाँच प्रतिशत नगद लाभांश गरी जम्मा १३ दशमलव पाँच प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्दै बैंकको १५औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
बैंकले आर्थिक वर्ष २०७७/७८ मा सञ्चालन मुनाफा सात अर्ब नौ करोड रुपैयाँ र करपछिको मुनाफा चार अर्ब १६ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ पुग्नेछ । सभामा बैंकको सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमई बैंक आफ्नो स्थापनाकालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको परिपालना गर्दै आफ्ना सेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए ।
बैंकले सदाझैँ आफ्नो व्यावसायिक रणनीतिक योजनाअनुरूप निक्षेप संकलन, कर्जा लगानी तथा व्यवसाय विस्तारका सन्तुलितरूपमा बैंकको उपस्थिति वृद्धि गर्दै जाने उनले बताए । कोरोना महामारीले अर्थतन्त्रमा पारेको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न ग्राहकमैत्री अत्याधुनिक डिजिटल प्रविधिमार्फत सेवा प्रवाह गर्दै ग्राहकहरूलाई थप प्रभावकारी सेवा पु-याउन लागि परेको पनि उनले जानकारी दिए । साथै, बैंकले अझै सर्वसुलभ बैंकिङ सेवा प्रदान गर्ने तथा राष्ट्र बैंकले २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन वर्षको रूपमा मनाउने घोषणाअनुसार देशैभर डिजिटल भुक्तानीका लागि बैंकिङ साक्षरता कार्यक्रमहरू आयोजना गर्दै जाने पनि जानकारी गराए ।
यसका साथ साथै, अध्यक्ष ढकालले सेयरधनीको आकांक्षाअनुरूप आगामी दिनमा उच्च लाभांश प्रदान गर्न बैंक प्रयासरत रहेको समेत बताए । बैंकको खुद मुनाफा आव २०७६/७७ को तुलनामा आव २०७७/७८ मा ४३ दशमलव २० प्रतिशतले वृद्धि भई चार अर्ब १६ करोड रुपैयाँ पुगेको हो । हाल बैंकले दुई खर्ब ७४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गर्नुका साथै दुई खर्ब ७० अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यका साथ बैंकले देशका ७६ जिल्लामा दुई सय ८७ शाखा सञ्जाल तथा तीनवटा अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयसहित आठ सय ५० भन्दा बढी सेवा केन्द्रबाट २७ लाख ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।