काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी अमर मर्हजन पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार महर्जनलाई काठमाडौंको शंखमूल क्षेत्रबाट पक्राउ गरेको हो ।
ललितपुर महानगरपालिका वडा नं. २१ बस्ने ४२ वर्षीय महर्जनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालाहरुलाई झुक्यानमा २०७५ असोज २४ गते मेगा बैंकको चेक काटी दिएको बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गर्दै उच्च अदालत पाटनबाट २०७८ असोज ८ गते प्रतिवादी महर्जनको हकमा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम चार दिन कैद र ४५ लाख ५० हजार रुपैयाँ जरिवाना हुुने फैसला भएको थियो ।
‘सोपश्चात् फरार रहेका महर्जनलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले शंखमूल, काठमाडौंबाट पक्राउ गरेको हो’, प्रवक्ता महतोले भने । पक्राउ परेका महर्जनलाई फैसला कार्यान्वयनको लागि मंगलबार ललितपुर जिल्ला अदालतमा पेश गरेको प्रवक्ता महतोको भनाइ छ ।