काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले सबै सरकारी निकायलाई स्वदेशी हस्तकलाका सामग्री प्रयोग गर्न आग्रह गरेका छन् । निर्यात व्यापार, रोजगारी सिर्जना, गरिबी निवारणका साथै अन्तर्राष्ट्रियजगतमा नेपालको पहिचान कायम गर्न सफल हस्तकलालाई सरकारले उच्च प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिए ।
नेपाल हस्तकला महासंघको स्वर्ण महोत्वस कार्यक्रममा उनले नेपाली हस्तकलाले व्यापारघाटा न्यूनीकरणमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने बताएका हुन् । महासंघले ५०औँ वर्षमा प्रवेश गरेको अवसरमा स्वर्ण महोत्वस वर्षभरि विभिन्न प्रवर्द्धनमूलक कार्यक्रम आयोजना गरी मनाउने घोषणा गरेको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले महासंघको स्वर्ण महोत्सव शुभारम्भ भएको घोषणा गरेका हुन् ।
कार्यक्रममा उपराष्टपति पुनले भने, ‘नेपाल सर्वोच्च शिखर सगरमाथा, गौतम बुद्धको नामले विश्वभर चिनिँदै आएको छ, यसमा हस्तकला समेत थपिएको छ, नेपाली हस्तकलाले नेपाली कला संस्कृतिको संरक्षण सर्म्वद्धनसमेतका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । जुन हाम्रा लागि गौरवको कुरा हो ।’ कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले कोरोनाबाट थलिएको हस्तकला व्यवसायलाई पुनर्जीवन दिन तीनवटै तहका सरकारको सहयोग र सहकार्य आवश्यक रहेको बताए । उनले महासंघले स्वर्ण वर्षभर हस्तकला व्यवसायको प्रवर्द्धनका लागि नीतिगत तथा प्रक्रियागत व्यवस्था सरलीकरणसम्बन्धी गोष्ठी सेमिनार गर्ने, व्यापार मेला प्रदर्शनी आयोजना गर्ने, वस्तु विकास, सीप विकास, डिजाइन विकास र सीप हस्तान्तरणसम्बन्धी तालिम सञ्चालन गर्ने, हस्तकलाको सरकारसँग बहस पैरवी गर्न आवश्यक नीति तर्जुमा तथा अनुसन्धानमूलक कार्यक्रम गर्ने, हुलाक टिकट प्रकाशन गर्ने, स्वर्ण सिक्का निष्काशन गर्ने जानकारी दिए ।
त्यस्तै हस्तकलाले खेलेको भूमिकाबारे निबन्ध प्रतियोगिता आयोजना गर्ने, महासंघका पूर्वपदाधिकारी तथा सदस्यलाई क्रमशः सम्मान गर्दै जाने, वृक्षरोपणका कार्यक्रम सञ्चालन गर्ने, हेरिटेज वाक कार्यक्रम आयोजना गर्ने र स्वर्ण वर्षभरि प्रयोग गर्ने गरी लोगो अंकित मफलर बनाउने अध्यक्ष शाक्यले बताए ।
हस्तकला महासंघका उपाध्यक्ष तथा हस्तकला वर्षका संयोजक रवीन्द्र शाक्यले हस्तकलाको विकास र विस्तारका लागि सबैभन्दा पहिले हस्तकला नीति तर्जुमा गरिनुपर्ने बताए । महासंघले हस्तकला नीतिको मस्यौदा सरकारलाई बुझाएको आठ वर्ष बितिसक्दा पनि नीति कार्यान्वयन नआएको उनले गुनासो समेत गरेका छन् । कोरोना प्रभाव, कच्चापदार्थ अभाव, निर्यातमा महँगो कार्गो भाडा, सरकारी उपेक्षा लगायतका कारण नेपाली हस्तकला संकटबीच गुज्रिरहेको उनले व्यक्त गरेका छन् ।
महासंघका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यले भन्छन्, ‘कोरोनाले थलिएको हस्तकलालाई पुनर्जीवन दिने उद्देश्यका साथ महासंघले हस्तकला वर्ष घोषणा गरेर विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम गर्दै आएको जानकारी गराउँदै आगामी दिनमा पनि निरन्तरता दिनुपर्छ ।’ साथै उक्त अवसरमा महासंघका संस्थापक अध्यक्ष सागर समशेर राणा, महासंघका संस्थापक सदस्य मोतिलाल सिल्पकारका साथै उत्कृष्ट निर्यातकर्ता एभरेष्ट फेसनका प्रबन्धनिर्देशक महेश्वर श्रेष्ठ, सुनिता शेर्पा, नरेश लाल श्रेष्ठलाई सम्मान गरिएको थियो ।