काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडकोे प्रमुख कार्यकारी अधिकृतमा सुन्दरप्रसाद कँडेल नियुक्त भएका छन् । बैंकको सोमबार बसेको सञ्चालक समितिको तीन सय ८५औँ बैंठकले कँडेललाई आगामी चारवर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । यसअघि बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले आफ्नो चारवर्षे कार्यकाल सम्पन्न गरी बैंकको सेवाबाट अवकाश लिने निर्णय गरेपश्चात् कँडेल कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत रहेका थिए ।
बैंकिङ क्षेत्रको सेवामा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कडेलको तीन दशकभन्दा लामो कार्य अनुभव रहेको छ । व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेका कँडेल सिद्धार्थ बैंकमा विगत १६ वर्षदेखि विभिन्न उच्च व्यवस्थापकीय पदमा रहेर कार्य गरी विगत चार वर्षदेखि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बहन गर्दै आएका थिए । बैंक सञ्चालनमा विशेष दखल राख्ने कँडेलले सिद्धार्थ बैंकमा सेवा प्रारम्भ गर्नुअगाडि नबिल बैंकमा समेत करिब १७ वर्षको कार्य अनुभव समेत संगालेका छन् । प्रमुख कार्यकारी अधिकृत कँडेलको नियुक्तिबाट सिद्धार्थ बैंकलाई अझै उचाइमा लैजान मदत पुग्ने विश्वास बैंकले लिएको छ ।