काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशका विभिन्न भूगोलमा रहेका हलिया, कमैया र हरुवाचरुवाको पुनर्स्थापनाका विषयमा देखिएका समस्या दीगो रुपमा समाधानका लागि पहल गर्ने बताएका छन् ।
कृषि बधुवा मजदुर अधिकार मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले परम्परागत दासत्वको समस्या हल गर्न सरकार दृढ रहेको उल्लेख गरे । श्रेष्ठले पछाडि पारिएका वर्ग समुदायको उत्थान, पुनर्स्थापना, रोजगारीसँग जोडिएका विषयहरुको न्यायोचित समाधान गर्ने प्रतिबद्धता पनि जनाए । उनले आवश्यकता, रुचि र सम्भाव्यताका आधारमा मुक्तहलियाहरूको सीप र क्षमताको विकास गर्ने, स्वरोजगार बनाउने, आयआर्जनमा लगाउने खालको कार्यक्रम ल्याउने पनि उल्लेख गरे । साथै उनले बलपूर्वक श्रम र न्यून ज्यालाको समस्या समाधानको पहल गर्ने बताए । सरकारले संविधानको मर्म र भावनाअनुसार भूमिहीन, सुकुम्वासी तथा दासत्वसँग जोडिएका मुद्दाहरूलाई सदाका लागि अन्त्य गर्ने उनको भनाइ थियो ।
कार्यक्रममा एमाले सांसद शान्ता चौधरीले कमैया, कम्लरी र हलियाका रूपमा दुःख पाएकाहरु मुक्त भएपछि पनि न्यायिक पुनस्र्थापना प्रभावकारी हुन नसकेको बताइन् । यस्तै राष्ट्रिय दलित नेटवर्क, राष्ट्रिय मुक्तहलिया समाज महासंघ, कमैया महिला जागरण समाज, राष्ट्रिय हरवाचरवा अधिकार मञ्च, बाध्यकारी श्रम निर्मूलन पैरवी समूहका प्रतिनिधिहरुले कमैया, कमलरी तथा हलिया प्रथाको मुक्तिको घोषणापछि न्यायिक पुनर्स्थापना प्रभावकारी हुन नसकेको उल्लेख गरेका थिए । कसैलाई पनि शोषण, बेचबिखन, दासत्वजस्ता कार्यमा संलग्न गराउन नपाइने संवैधानिक व्यवस्था छ । हरवाचरवाहरु संविधानप्रदत्त रोजगारीको छनौटको स्वतन्त्रता, मर्यादापूर्ण श्रम अभ्यास, न्युनतम ज्याला लगायतबाट वञ्चित छन् । मन्त्री श्रेष्ठले कमैया, कमलरी तथा हलिया प्रथाको मुक्ति र पुनर्स्थापनाको लागि गर्नुपर्ने काम अन्य मन्त्रालयसँग पनि सम्बन्धित रहेकोले आवश्यक समन्वय गर्ने विश्वास दिलाए ।