काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विद्युत् बिक्रीभन्दा खपत गर्नुपर्ने नीति लिनुपर्नेमा जोड दिएका छन् । विद्युत् बिक्री गरेर व्यापारघाटा कम नहुने उनले बताए । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले गरेको नवउत्थान सम्मेलनको उद्घाटन कार्यक्रममा उनले विद्युत् खपत गरी वस्तु उत्पादन र रोजगारी सृष्टि गरेर मात्र व्यापारघाटा कम गर्न सकिने उल्लेख गरे । साथै उनले विद्युत् महसुल घटाएर उत्पादन गर्ने उद्योगहरूलाई उपलब्ध गराउनुपर्ने बताए ।
अहिले विद्युत् बिक्री गर्नुपर्ने भन्दै प्राधिकरण चिन्ता गरिरहेको बताउँँदै उनले विद्युत् बिक्रीबाट अर्थतन्त्र बलियो नहुने दाबी गरे । बिक्रीभन्दा पनि उत्पादनशील उद्योगहरूलाई सहुलियतमा विद्युत् उपलब्ध गराएर खपत बढाउनुपर्नेमा उनले जोड दिए । ‘विद्युत् उद्योगलाई नदिने अनि खेर फाल्ने किसिमको नीतिलाई सरकारले सच्याउँछ’, उनले भने, ‘एकातिर विद्युत् खेर गइरहेको छ, अर्कोतिर उद्योगले चलाउन पाएको छैन । यसले गर्दा रोजगारी सृष्टि हुन पाएको छैन ।’ नीति परिमार्जन गर्नेबारे मन्त्रालय र सम्बन्धित निकायसँग छलफल भइरहेको समेत मन्त्री शर्माले जानकारी दिए । यसलाई आगामी आर्थिक वर्षमा समेटिने समेत उल्लेख गरे । उनले कुन उद्योगलाई कहाँ कति विद्युत् उपलब्ध गराउनुपर्ने हो, त्यसको यथेष्ट तथ्याङ्क बनाएर विद्युत् उपलब्ध गराउनुपर्ने बताए ।
विशेषगरी उत्पादन गरेर निर्यात गर्नसक्ने किसिमको उद्योगलाई प्राथमिकतामा राखेर विद्युत् सहुलियतमा उपलब्ध गराउनुपर्नेमा जोड दिए । यसले मुलुकलाई उत्पादनमुखी अर्थतन्त्र निर्माणमा टेवा पु-याउने उनले विश्वास व्यक्त गरे । यस्तै निजी क्षेत्रले मुलुकको गार्हस्थ्य उत्पादनमा ठूलो योगदान गरिरहेको स्मरण गर्दै शर्माले निजी क्षेत्रकै सुझावअनुसार आगामी नीति तय गरिने पनि उल्लेख गरे ।