काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुप (जुन निकट भविष्यमा ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्ट हँुदैछ) बाट २५ मिलियन अमेरिकी डलर (करिब तीन अर्ब रूपैयाँ) ऋण लिने सहमतिपत्रमा हस्ताक्षर भएको छ । बुधबार बैंकमा आयोजित एक समारोहबीच ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा सीडीसी ग्रुपका कन्ट्री रिप्रजेन्टेटिभ रवि रायमाझीले उक्त सम्झौता आदान प्रदान गरेका छन् ।
सीडीसीबाट प्राप्त ऋणले बैंकको कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्नुका साथै बैंकलाई नेपाल सरकारको प्राथमिकताका क्षेत्रहरू जस्तैः जलविद्युत्, नवीकरणीय ऊर्जा र पूर्वाधार, निर्माण, उत्पादन, कृषि र पर्यटन क्षेत्रसम्बन्धी व्यवसायमा ऋण प्रदान गर्न सहयोग पुग्नेछ । साथै यस ऋणलाई बैंकले कोभिड महामारीपछिको आर्थिक पुनरुत्थान तथा रोजगारी सिर्जना गर्दै दिगो र समावेशी विकासमा लगानी बढाउन सहयोग पुग्नेछ ।
सीडीसी ग्रुपका प्रबन्ध निर्देशक तथा एसिया प्रमुख श्रीनि नागाराजनले नेपाल सधैँ सीडीसीको प्राथमिकतामा रहेको बताउँदै नेपालभर शाखा सञ्जाल पुगेको बैंकसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । उनले यस ऋण सहयोगबाट नेपालको आर्थिक पुनरुत्थान र दिगो विकासमा सीडीसीको प्रतिबद्धता रहेको प्रस्ट भएको समेत बताएका छन् ।
‘विश्व अर्थतन्त्रमा देखिएको मन्दीसँगै अन्तर्राष्ट्रिय पुँजी लगानीमा कमी आएको अहिलेको अवस्थामा ग्लोबल आईएमई बैंकसँगको हाम्रो यस सहकार्यले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको सकारात्मक सन्देश प्रवाह हुने र ठूला विदेशी लगानी भित्र्याउँदै मुलुकको आर्थिक रूपान्तरणमा सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ’, नागाराजनले भने । बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले विश्वका ७० भन्दा बढी देशमा सञ्जाल रहेको सीडीसीसँगको सहकार्यप्रति खुशी व्यक्त गर्दै प्राप्त ऋण सहयोगले बैंकको कर्जा लगानी क्षमता अभिवृद्धि हुने र प्राथमिकताका क्षेत्रमा लगानी बढाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नेपालस्थित बेलायती राजदूत निकोला पोलिटले नेपालमा जलवायु परिवर्तनबाट पर्ने असर कम गर्न तथा कोभिड महामारीपछिको आर्थिक पुनरुत्थानमा बेलायत सरकारको सहयोग रहँदै आएको बताउँदै सीडीसीले नेपालको वित्तीय संस्थालाई गरेको यो सहयोग बेलायत सरकारको साना तथा मझौला उद्यमलाई जलवायु परिवर्तनका असर न्यूनीकरणमा गरिएको सहयोगहरू प्राप्त गर्न उनीहरूको संस्थागत क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गरेका छ । उनले ग्लोबल आईएमई बैंकलाई सीडीसीले गरेको यो ऋण सहयोगले आन्तरिक व्यवसायहरूको वित्तीय पहुँच बढाउनुका साथै आर्थिक अवसर वृद्धि गर्ने र आन्तरिक वस्तु तथा सेवाको उपलब्धता बढाउने बताएका छन् । (आर्थिक दैनिकबाट)