काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन चार दसमलव २३ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको अन्तिम कारोवार दिन आज बिहिबार पुन ३७ दसमलव ८७ अंकले ओरालो लागेर २३ सय ७६ दसमलव ७४ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन पाँच दसमलव ८८ अंकले ओरालो लागेर चार सय ५३ दसमलव ५३ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २४ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट ३७ हजार दुई सय ३६ पटकको कारोवारमा ५३ लाख ७९ हजार आठ सय ६० कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुँदा यसदिन कुल सेयर कारोवार रकम दुई अर्ब ३० करोड १७ लाख ५१ हजार नौ सय ६८ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहरु मध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक शुन्य दसमलव शुन्य आठ अंकले उकालो लागेको छ भने बाँकी उपसमुहको सुचक ओरालो लागेका छन् ।