काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भारतमा रहेका आप्रवासी नेपाली कामदारको समस्या सम्बोधन गर्न अलग्गै नीति बनाउनुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा (आईओएम) द्वारा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले भारतमा लाखौँको संख्यामा रहेका आप्रवासी नेपाली कामदारहरूको समस्यालाई सम्बोधन गर्न अलग्गै नीति, योजना र कार्यक्रम बनाउनुपर्ने आवश्यकता रहेको बताए । उनले सरकारले आप्रवासी कामदारहरूको हितलाई केन्द्रमा राखेर विद्यमान वैदेशिक रोजगार नीतिलाई पुनरावलोकन गर्ने तयारी गरेको समेत जानकारी दिए । वैदेशिक रोजगार नीति समय सापेक्ष बनाउन सरोकारवला र विज्ञहरूबाट सुझाव संकलन भइरहेको मन्त्री श्रेष्ठको भनाइ छ ।
अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै बैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई उत्पादनशील परिचालन गर्ने सरकारको नीति रहेको बताउँदै उनले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, सरल तथा प्रतिफलमुखी बनाउन सरकारले नीतिगत तथा संरचनागत सुधार गरिरहेको उल्लेख गरे । कोभिड–१९ महामारी कारण अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकहरूले भोगेका बहुआयामिक समस्याको तत्काल सम्बोधन गरिने उनको भनाइ छ ।
साथै विभिन्न मुलुकबाट नेपालमा काम गर्न आउने आप्रवासीको संख्या पनि क्रमशः वृद्धि हुँदै गएकोले उनीहरूको हकहितको रक्षाका लागि समेत ध्यान दिनुपर्ने उनले बताए । वैदेशिक रोजगारीले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । आव २०५०/०५१ देखि २०७७/०७८ सम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका ५६ लाख ६४ हजार श्रमिकले पठाएको विप्रेषणले नेपालको अर्थतन्त्रमा ठूलो योगदान गरेको छ । कुल गार्हस्थ्य उत्पादनमा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको योगदान औसत २५ प्रतिशत छ । व्यवस्थित आप्रवासनको माध्यमबाट मुलुकले विकास र समृद्धि हासिल गर्ने मन्त्री श्रेष्ठले बताए ।