काठमाडौं । विगत २० वर्षदेखि विभिन्न बिरामीलाई सेवा दिँदै आएको एभरेष्ट अस्पताल हाल स्त्री रोगसम्बन्धी ल्याप्रोस्कोपी सर्जरी गर्ने बिरामीहरुको प्रथम केन्द्रविन्दु बन्न पुगेकोे छ । ल्याप्रोस्कोपी सर्जरी भनेको पेटमा स–साना घाउ बनाई दूरबिनको सहायताबाट तल्लो पेटका भित्री अंगका समस्या हेर्ने र उपचार गर्ने विधि हो । पछिल्लो समय एभरेष्ट अस्पतालबाट दूरबिनमार्फत गरिने स्त्री रोगको उपचार ल्याप्रोस्कोपी विधिबाट सञ्चालनमा आएसँगै उपत्यकाभित्र र बाहिरका बिरामीहरुको लागि प्रथम रोजाइ बन्नपुगेको छ ।
गत भदौ महिनाबाट सञ्चालनमा आएपछि यसमा ल्याप्रोस्कोपी गाइनोलोजिस्ट विशेषज्ञ डा.राजन शाह र उनको नेतृत्वको टिमले सफल शल्यक्रिया गर्दै आएका छन् । अस्पताल प्रशासनका अनुसार यस प्रविधिबाट देशको पूर्वदेखि सुदूरपश्चिमसम्मका बिरामी आएर शल्यक्रिया गराएका छन् । गएको महिनाको तथ्याङ्क हेर्दा मंसिर महिनामा मात्रै ३२ बिरामीले दूरबिनको माध्यमबाट स्त्री रोगसम्बन्धी सफल शल्यक्रिया गराएका छन् । ल्याप्रोस्कोपीका विधिबाट शल्यक्रिया गराउँदा एक सेन्टिमिटर र आधा सेन्टिमिटरका स–साना प्वाल मात्र बनाई शल्यक्रिया गरिन्छ । यसबाट बिरामीलाई दुःखाइ महशुस एकदमै कम हुने र बिरामीको शरीरबाट रगत एकदम कम खेर जाने गर्दछ ।
त्यस्तै, अन्य फाइदाहरुमा घाउ सानो हुने भएकोले चाँडै सञ्चो हुनुको साथै घाउ पाक्ने सम्भावना पनि कम हुन्छ । यस शल्यक्रिया गरेको २४ घण्टाभित्र बिरामी हिँड्डुल गर्न सक्ने भएकाले अस्पतालबाट चाँडै डिस्चार्ज हुन्छ । यसर्थ चाँडै आफ्नो दैनिक काममा फर्किन सक्छन् । यसका साथै एभरेष्ट अस्पतालमा महिलाहरुको समस्याको गरिने शल्यक्रियाहरु, पाठेघरमा मासु पलाएको निकाल्ने शल्यक्रिया, पाठेघर निकाल्ने शल्यक्रिया, अण्डा वा डिम्बाशयमा सिस्ट पलाएको शल्यक्रिया, बाँझोपन वा नली बन्द भएको गर्नेलगायत महिलासँग जोडिएका थुप्रै समस्याको उपचार तथा शल्यक्रिया दूरबिनमार्फत गरिन्छ ।