काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको २७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका अनुसार यही पुस एक गते भर्चुअल माध्यमबाट सम्पन्न साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित गत आर्थिक वर्र्षको आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको छ ।
सभाले सेयरधनीहरूलाई आव २०७७/०७८ का लागि छ प्रतिशतका दरले हुुनआउने ५३ करोड ३६ लाख २३ हजार ३१ रुपैयाँबराबरको बोनस सेयर र चार दशमलव ३२ प्रतिशतका दरले हुने ३८ करोड ४२ लाख आठ हजार पाँच सय ८३ रुपैयाँबराबरको नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकले प्रस्तावित ५३ करोड ३६ लाख २३ हजार ३१ रुपैयाँबराबरको बोनस सेयर वितरण भएपश्चात् हालको जारी र चुक्ता पुँजी आठ अर्ब ८९ करोड ३७ लाख १७ हजार एक सय ७८ रुपैयाँबाट वृद्धि भई नौ अर्ब ४२ करोड ७३ लाख ४० हजार दुई सय नौ रुपैयाँ हुने भएकाले जारी र चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ । सभाले आव २०७८/७९ को लागि सुन्दर एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टसलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ ।
बैंकले हाल देशैभरि छरिएर रहेको आफ्नो एक सय पाँचवटा शाखा सञ्जाल, प्रादेशिक कार्यालय, एक सय ३८ एटीएम बुुथसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।