काठमाडौं । एनएमबि बैंकले १३.५ मेगावाट तथा १२ मेगावाटका क्रमश सुपर कावेली खोला–ए जलविद्युत् आयोजना तथा सुपर काबेली खोला क्यासकेड जलविद्युत् आयोजनाहरूको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । प्रदेश १ अन्तर्गत ताप्लेजुङ जिल्लामा रहेको सिरीजङ्घा गाउँपालिकामा निर्माण भइरहेको सुपर काबेली खोला–ए जलविद्युत् आयोजना तथा सुपर काबेली खोला क्यासकेड जलविद्युत् आयोजनाहरू क्रमशः स्नो रिभर्स प्रालि तथा हिल्टन हाइड्रो इनर्जी प्रालिद्वारा निर्माण भइरहेको हो ।
यस आयोजनाहरूमा एनएमबी बैंक लि. अगुवा बैंक रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको छ । १३ दशमलव पाँच मेगावाट (सुपर काबेली खोला– ए जलविद्युत् आयोजना) तथा १२ मेगावाट (सुपर काबेली खोला क्यासकेड जलविद्युत् आयोजना) क्षमता भएको आयोजनाहरूको कुल लागत क्रमशः दुई अर्ब ४१ करोड तथा दुई अर्ब १४ करोड रहेको छ जसमध्ये बैंकहरूको लगानी क्रमशः एक अर्ब ८९ करोड तथा एक अर्ब ६७ करोड रहने जानकारी गराइएको छ । यो आयोजना समेत गरी एनएमबीले कुल ४३ वटा जलविद्युत् आयोजनाहरूमा लगानी गरिसकेको छ ।
नेपाल राष्ट्र बैंकबाट जारी इन्भारोमेन्टल एन्ड सोसियल मिटिगेसन गाइलाइन्स २०१८ को निर्देशनअनुसार एनएमबीले वातावरणीय तथा सामाजिक नीति तयार पारी त्यसबमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागू गरिसकेको छ । एनएमबी बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको छ । एनएमबी बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ को लागि पनि उक्त पत्रिकाबाट चार पटक नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ पनि प्राप्त गरिसकेको छ । बैंकले हाल देशभरि दुई सय एकवटा शाखा, एक सय ३८ वटा एटीमहरू, नौ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।