काठमाडौँ ।ललिता निवास जग्गा घोटाला प्रकरणमा बिचौलियाको भूमिका निर्वाह गर्ने दुई व्यक्तिलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार उक्त जग्गा प्रकरणमा बिचौलियाको भूमिका निर्वाह गर्ने दुई व्यक्तिहरुलाई मंगलबार पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा ललिता निवास जग्गामा बिचौलियाको भूमिका निर्वाह गर्ने काठमाडौं महानगरपालिका १३ ताहाचल बस्ने ५७ वर्षीय राम कुमार सुवेदी र ताहाचल नै बस्ने ५५ वर्षीया माधवी सुवेदी रहेका छन् । प्रहरी उपरीक्षक महतोका अनुसार उक्त जग्गा प्रकरणमा पक्राउ परेका दुईमध्ये रामकुमारको हैसियत सरकारी जग्गा गुठीको नाममा बनाई हाल उक्त जग्गा निज राम कुमार सुवेदी समेतको नाममा रहेको र माधवीको हैसियत सरकारी जग्गा गुठीको नाममा बनाई हाल उक्त जग्गा निज माधवी सुवेदी समेतको नाममा रहेको देखिएको छ ।
सरकारी जग्गा हिनामिना र हानि नोक्सानी पु¥याएको भन्ने समेत व्यहोराको लिखतसम्बन्धी कसुर मुद्दामा अनुसन्धानको क्रममा ती दुई व्यक्तिहरुलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
समरजंग कम्पनीको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी राम कुमार सुवेदी समेतका प्रतिवादीहरुले तत्कालीन श्री ५ को सरकारबाट रीतपूर्वक मुआब्जा दिई अधिग्रहण गरिएको काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका ४ बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा विभिन्न व्यक्तिहरुको संलग्नतामा झूठो र किर्ते समेतको फरक व्यहोराको प्रस्ताव पेश गरी, कानुनको दुरुपयोग र अपव्याख्या एवं मन्त्रिपरिषद्को निर्णयविपरीत समेत गरी बदनियतपूर्वक राज्यलाई हानि हुने गरी नेपाल सरकार समरजंग कम्पनीको नाममा रहेको सरकारी जग्गा अन्य व्यक्तिहरुलाई फाइदा हुने गरी सार्वजनिक र सरकारी जग्गा हिनामिना र हानि नोक्सानी पु¥याएको भन्ने समेत व्यहोराको लिखतसम्बन्धी कसुर मुद्दामा अनुसन्धानको क्रममा ती दुई व्यक्तिहरुलाई पक्राउ गरिएको प्रवक्ता महतोको भनाइ छ ।
पक्राउ परेका दुवै व्यक्तिहरुलाई मंगलबार नै काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी हाल अनुसन्धान गरिरहेको जानकारी पनि प्रहरी उपरीक्षक महतोले दिए ।