काठमाडौँ । नेपाल र गणतन्त्र सिसेल्सबीच वैदेशिक रोजगारीका लागि नेपाली कामदारहरू लैजान द्विपक्षीय श्रम सम्झौता हुने भएको छ । वैदेशिक रोजगारीका लागि नेपाली कामदारहरू लैजान सेसेल्सले नेपालसँग द्विपक्षीय श्रम सम्झौताको प्रस्ताव गरेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि गणतन्त्र सिसेल्सका राजदूत थोमस सेल्भी पिल्लेले गरेको शिष्टाचार भेटमा मन्त्री श्रेष्ठले नेपाली कामदारहरू सिसेल्समा वैदेशिक रोजगारीका लागि पठाउन नेपाल सकारात्मक रहेको बताए । साथै उनले द्विपक्षीय श्रम समझदारी (एमओयू)का लागि तयारी अघि बढाइने जानकारी समेत दिए । सिसेल्स हेर्ने नेपाली राजदूतावास (प्रिटोरिया) दक्षिण अफ्रिकाको रायबमोजिम जेल सुरक्षाको लागि मात्रै नभएर प्रहरी सेवा र निजी क्षेत्रमा हुने रोजगारी समेतलाई समेटेर द्विपक्षीय श्रम समझदारी अघि बढाउनुपर्ने मन्त्री श्रेष्ठको भनाइ थियो । मन्त्री श्रेष्ठले नेपालबाट वार्षिक कति कामदार लैजाने ? कस्तो खालको सीप तालिम आवश्यक पर्दछ ? न्यूनतम योग्यता र भाषागत क्षमताका साथै न्यूनतम पारिश्रमिकलगायत सेवा सुविधाहरूबारे छलफल गरी द्विपक्षीय श्रम समझदारी (एमओयू) गर्न सकिने बताए । कामदार छनोट, रोजगारी र स्वदेश फिर्तीलगायत विषयमा दुवै देशका उच्च पदाधिकारी सम्मिलित संयुक्त समिति गठन गरी टुंगो लगाउन उपयुक्त हुने उनको भनाइ थियो । राजदूत पिल्लेले सिसेल्स सरकार सुरक्षागार्डबाहेक अन्य क्षेत्रमा पनि नेपाली कामदारहरू लैजान इच्छुक रहेको बताए । उनले खुला र उदार अर्थव्यवस्था भएको सिसेल्स नेपाली कामदारका लागि आकर्षक गन्तव्य हुनुसक्ने उल्लेख गर्दै सिसेल्स जान श्रमिकले आर्थिक लगानी गर्नु नपर्ने जानकारी दिए । राजदूत पिल्लेले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई सिसेल्स भ्रमणको निम्तो पनि दिएका छन् । नेपाल र सिसेल्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ३४ वर्ष भएको छ । भेटमा उनीहरूबीच नेपाल र सिसेल्सको द्विपक्षीय हित र आपसी सम्बन्धबारे छलफल भएको थियो ।