काठमाडौं । गरिमा विकास बैंकले थप दुईवटा शाखा सञ्चालनमा ल्याएको छ ।
एक्सीज टु अल भन्ने मूल नारासहित शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको बैंकले प्रदेश नं १ अन्तर्गत धनकुटा जिल्लाको सदरमुकाम धनकुटामा धनकुटा शाखा र झापा जिल्लाको सदरमुकाम चन्द्रगढीमा चन्द्रगढी शाखा सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।
बैंकले हाल नेपालभर एक सय १८ शाखा कार्यालय, एउटा एक्स्टेन्सन काउन्टर र ५१ एटीएमबाट सरल, सुलभ तथा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड ४४ लाख १९ हजार छ सय ४४ रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले आठ करोड १२ लाख २५ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
चुक्ता पुँजी तीन अर्ब ६७ करोड ५९ लाख १२ हजार रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासमा ६४ अर्ब ७१ करोड २८ लाख ३६ हजार पाँच सय ७२ रुपैयाँ निक्षेप संकलन गरी ५५ अर्ब ९८ करोड ८५ लाख तीन हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ५६ करोड ४१ लाख ९२ हजार तीन सय ६५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव चार प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
सो अवधिमा तीन दशमलव ९० प्रतिशत स्प्रेड दर रहेको बैंकको बितरणयोग्य नाफा भने ६६ करोड ११ लाख ९९ हजार आठ सय ५९ रुपैयाँ रहेको छ । बैंकले गत आवको सोही अवधिमा भने ६३ अर्ब ९० करोड २० लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ८० करोड ५५ लाख ३९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा ३७ करोड २१ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९९ प्रतिशत रहेको थियो ।