अमेरिका । आईफोन निर्माता एप्पल यही वर्षको अन्त्यसम्म ३० खर्ब डलर मूल्यववान् कम्पनी बन्नसक्ने देखिएको छ ।
सोमबारको सेयरबजार कारोबार समयमा कम्पनीको बजार पुँजीकरण २९ खर्ब ५० अर्ब अमेरिकी डलर पुगेको थियो । कम्पनी ३० खर्ब डलर मूल्यवान् हुन अब यसको सेयर प्रतिकित्ता एक सय ८२ दशमलव ८५ अमेरिकी डलरभन्दा माथि हुनुपर्ने फक्सबिजनेसले जनाएको छ ।
कम्पनीको अहिले सेयर प्रतिकित्ता मूल्य एक सय ७८ दशमलव ९८ अमेरिकी डलर रहेको छ ।
यही महिनाको सुरुतिर वेडबसका विश्लेषक ड्यान इभ्सले कम्पनीले चाँडै यो कोशेढुंगा पार गर्ने दिशामा लम्किरहेको देखिएको बताए । कम्पनीप्रति शंका गर्नेहरुलाई गलत साबित गर्दै एप्पलले वृद्धिकोा पुनरागमन गरेको उनको भनाइ छ ।
गत अक्टोबरमा एप्पल सीईओ टिम कुकले एप्पलका उत्पादनको माग बलियो रहेको बताएका थिए । आपूर्तिगत समस्याका बाबजुद कम्पनी मागको हिसाबले बलियो अवस्थामा रहेको उनको भनाइ थियो । आपूर्तिगत समस्याका कारण कम्पनीले अनुमानित छ अर्ब अमेरिकी डलर खर्च भएको उनले बताएका थिए ।
कम्पनीले विश्लेषकको अनुमानभन्दा कम आईफोनतर्फको राजस्व संकलन गरेको रिपोर्ट गरेको थियो । विश्लेषकहरुले ४१ अर्ब ५१ करोड डलर उठ्ने अनुमान गरिरहँदा एप्पलले आईफोन बिक्रीबापत ३८ अर्ब ८७ करोड डलरको आम्दानी गरेको थियो । यता इभ्स आईफोन १३ को बिक्री असाध्यै बलियो रहेको बताउँछन् । विश्वमा चिप अभाव आइरहँदा पनि होलिडे सिजनमा अनुमानित चार करोड आईफोन बिक्री भएको उनको भनाइ छ । यसको माग सन् २०२२ मा चीन र क्यानडामा बलियो नै रहने उनले बताए ।
इभ्स सेयर दरको प्रस्तुतिको मूल्यांकन गर्छन् । उनका अनुसार एप्पलको सेयर प्रतिकित्ता नै दुई सयदेखि दुई सय २५ अमेरिकी डलर पुग्ने दाबी गर्छन् । त्यस्तै कन्स्टेलेसन रिसर्चका संस्थापक तथा प्रमुख रे वाङ पनि इभ्सकै सेयर मूल्यांकनमा सहमत देखिन्छन् ।
आईफोन, एम१ चिपयुक्त नयाँ म्याकलगायतका उत्पादनसँगै सम्भावित कारलगायतले एप्पलको व्यवसाय मजबुत हुने उनको अनुमान छ । नयाँ उत्पादन पनि आउँदा एप्पल ४० खर्ब डलर मूल्यवान् कम्पनी बन्नसक्ने उनी बताउँछन् ।अहिले २० खर्ब डलर मूल्यवान् कम्पनीमा एप्पलसँगै माइक्रोसफ्ट पनि रहेको छ ।