काठमाडौँ । सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड घोटाला प्रकरणमा २०७८ असोज १८ गते पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष एवं पूर्वसांसद इच्छाराज तामाङ अन्ततः जेल चलान भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तामाङसहित १२ जनालाई गत असोज १८ गते पक्राउ गरेको थियो ।
अनुसन्धानको क्रममा तामाङले सिभिल सेभिङ एण्ड क्रेडिट घोटाला प्रकरणमा आफ्नो संलग्नता देखिए पनि बचतकर्ताहरुको बचत रकम फिर्ता गर्ने दायित्व भने आफ्नो नभएको बयान दिँदै आएका थिए । पैसा र पहुँचका आधारमा जोगिन खोजेका उनै तामाङलाई काठमाडौं जिल्ला अदालतले बुधबार थुनछेक आदेश जारी गर्दै थुनामा पठाएको छ । उनीसँगै उक्त प्रकरणमा जोडिएका केशवलाल श्रेष्ठ पनि अदालतको आदेश अनुसार थुनामा गएका छन् ।
सिभिल सेभिङ घोटाला प्रकरणमा तामाङसँगै पक्राउ परेका कुल १२ जनामध्ये नौ जनाको हकमा भने काठमाडौं जिल्ला अदालतले कसुरअनुसार फरक–फरक प्रतिवादीहरुको हकमा फरक–फरक रुपैयाँ गरी कुल ९८ लाख रुपैयाँ धरौटी तोकेको छ । यो प्रकरणमा पक्राउ परेका संगीत श्रेष्ठ भने साधारण तारिखमा छुटेका छन् ।
बाँकी रहेका नौ जना प्रतिवादीहरुको हकमा भने क्रमशः हरिप्रसाद लामिछानेलाई ५० लाख, विजयविक्रम शाहलाई १५ लाख, भगवान बहादुर सिंह डंगोललाई १० लाख, एलिना तुलाधरलाई पाँच लाख, मायोनानी महर्जनलाई पाँच लाख, बुद्धराज तामाङलाई पाँच लाख, कौस्तुभ केतन ढुंगानालाई पाँच लाख, शंकर प्रसाद पाठकलाई दुई लाख ५० हजार र राकेश मर्हजनलाई ५० हजार रुपैयाँ धरौटी तोकिएको छ ।
सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार वादी नेपाल सरकार प्रतिवादी सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड सोल्टीमोड, काठमाडौंको सञ्चालक समितिको अध्यक्ष केशवलाल श्रेष्ठ समेत भएको ठगी तथा संगठित अपराध मुद्दा केन्द्रीय अनुसन्धान ब्युरोमा असोज १७ गते दर्ता भएको थियो । सो पश्चात् असोज १८ गते तामाङसहित १२ जनालाई पक्राउ गरिएको थियो । पक्राउ परेका १२ जना प्रतिवादीहरु बुधबार काठमाडौं जिल्ला अदालतको प्रारम्भिक थुनछेक आदेशअनुसार उक्त सजायको भागिदार भएको उनको भनाइ छ ।
सीआईबीले असोज १८ गते तामाङसहित १२ जनालाई सिभिल सेभिङ एण्ड क्रेटिड कोअपरेटिभको घोटाला प्रकरणमा पक्राउ गरेको थियो । सोपश्चात् पहिलो पटक पाँच दिन, दोस्रो पटक १८ दिन, तेस्रो पटक १० दिन र चौथो पटक पनि पुन १० दिन म्याद थप गरी झण्डै ४० दिन हिरासतमा राखेर तामाङसहितको १२ जनाको टोलीविरुद्ध अनुसन्धान सकिएपश्चात् सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सीआईबीले ३६ जनालाई अभियुक्त बनाएर अनुसन्धान प्रतिवेदन बुुझाएको थियो । सोमध्ये तामाङ, उनकी श्रीमती सिर्जना र वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलाई मुख्य अभियुक्त बनाइएको थियो । बाँकीको हकमा भने मतियारको रुपमा मात्र देखिएको भन्दै सोहीअनुसार प्रतिवेदन बुझाइएको थियो ।

उक्त प्रकरणमा पक्राउ परेका अभियुक्तहरुउपर सीआईबीले आठ वर्षको कैद सजाय र पाँच अर्ब ५९ करोड रुपैयाँ बिगो दाबी गरेको थियो । पक्राउ परेका तामाङसहितका अभियुक्तहरुउपर १४ सय ८७ जना पीडित बचतकर्ताहरुले जाहेरी दिएका थिए ।
घोटाला प्रकरणमा कसको भूमिका कस्तो ?
सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा बचतकर्ताहरुको अर्बौँ रुपैैयाँ हिनामिना भएको भन्दै उक्त संस्थाका बचतकर्ताहरुले २०७८ असोज १७ गते केन्द्रीय अनुसन्धान ब्युरोमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा असोज १८ गते सीआईबीले उक्त संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरेको थियो ।
सुरुमा उक्त संस्थामा बचत रकम जम्मा गर्ने एक सय ३७ जना पीडित बचतकर्ताहरुको ७० करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नदिएको भन्दै परेको उजुरीका आधारमा पूर्वसांसद समेत रहेका तामाङसहित १२ जना पक्राउ परेका थिए । पक्राउ परेकाहरुमध्ये इच्छाराज तामाङ (सिभिल सेभिङ एण्डक्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष, पूर्वसभासद एवं सिभिल बैंकको अध्यक्ष), केशवलाल श्रेष्ठ (सञ्चालक समितिको अध्यक्ष), भगवानबहादुर सिंह (सहजकर्ता प्रबन्धक), मायोनानी महर्जन (जुनियर असिसटेन्ट मेनेजर), एलिना तुलाधर (जुनियर असिसटेन्ट मेनेजर), शंकर प्रसाद पाठक (जुनियर अधिकृत), संगीत श्रेष्ठ (असिस्टेन्ट), राकेश महर्जन (लेखा अधिकृत), बुद्धराज तामाङ (जुनियर सहायक प्रबन्धक), कौस्तुभ केतन ढुंगाना (जुनियर सहायक प्रबन्धक), विजय विक्रम शाह (सिभिल होम्सका वरिष्ठ प्रबन्धक) र हरिहर लामिछाने (पूर्वलेखा समिति सदस्य) भूमिकामा रहेका थिए ।
अनुुसन्धानका क्रममा उक्त सहकारीमा कुुल दुई हजार ५६ जना बचतकर्ताहरुको सात अर्ब ३६ करोड ३८ लाख ११ हजार रुपैयाँबराबरको बचत रहेको देखिएको थियो ।